ओमान := वैदेशिक रोजगारीको सिलसिलामा ओमानमा कार्यरत रहेकै बेला प्यारालाइसिस हुनुभएकी एक घरेलु महिला कामदारलाई त्यहाँ रहेको नेपाली दूतावासले नेपाल पठाएको छ। हिजो बुधबार नेपाली दूतावास र गैर आवासीय नेपाली संघ एनआरएनए ओमानको संयोजन ती महिलालाई एअर – स्ट्रेचरको व्यवस्था गरी नेपाल फिर्ता गरिएको दूतावासले जनाएकोछ ।
उनी गत ८ मेमा संक्रमित भएर सलालास्थित सुल्तान काबुस अस्पतालमा भर्ना भएकी थिइन। उनमा निमोनिया पनि देखिएको थियो भने खानासमेत नाकबाट पाइपको सहाराले दिनुपरेको थियो। विगत ७ महिनादेखि अस्पतालमा उपचाररत् रहेकोमा ३ महिनादेखि अस्पतालले अब थप सुधार हुन समय लाग्ने र यो अवस्थामा नेपाल लान सकिने भन्ने जानकारी गराएको थियो। नेपालमा उनको परिवारका छोरी।ज्वाईंसँग सरसल्लाह गरी नेपाल पठाउने सहमति अनुसार यात्रा समन्वय गरिएको दूतावासले जनाएको छ।
वहाँलाई सलालाबाट मस्कटसम्म ओमान एअरको विमानबाट तथा मस्कटदेखि काठमाण्डौ सलाम एअरको विमानबाट स्ट्रेचरको व्यवस्था गरि नेपाल ल्याइएको हो । दूतावासका अनुसार उहाँलाई नेपाल पठाउन लागेको झन्डै ९९ लाखमध्ये तीन लाख १२ हजार उहाँको छोरी ज्वाइँले बेहोरेको र बाँकी रकम दूतावास र एनआरएनएको संयोजनमा जुटाइएको हो।
यात्रा व्यवस्थापनगर्ने क्रममा दूतावासका कार्यवाहक राजदूत सोमेश थापा, श्रम सहचारी दिनेश ढकाल र एनआरएनएका तर्फबाट संघका अध्यक्ष बिकल झा विमानस्थलमा उपस्थित थिए। १९ डिसेम्बरमा लण्डनबाट नेपाल जाने क्रममा उडानको क्रममै अकस्मात् मृत्युवरण गरेकी एक नेपाली महिलाको शव तथा उनीसँगै यात्रामा रहेका तर मस्कटमा रोकिएका परिवारका अन्य सदस्यहरूलाई समेत सहजीकरण गरी सोही उडानबाट नेपाल पठाइएको दूतावासले जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-