काम कुन देशमा गर्छस् भनेर कसैले सोधेमा म छाती फुलाएर भन्छु खाडीमा । किनकि म कुन देशमा छु भन्ने कुराले मलाई त्यति ठुलो फरक पार्दैन । खाडीको देशमा कामदार बनेर पसिना बगाउन थालेको धेरै भयो । मैले खाडीलाई पसिना बेचेँ, खाडीले मलाई पैसा दियो । अहिले पनि यो क्रम चलिरहेकै छ । समय, परिस्थिति र अवस्थाले कुन देशमा जाने भन्ने कुरा तय गर्दो रहेछ ।
मैले परदेशको यात्रा सुरु गर्दाको अवस्था र अहिलेको अवस्थामा धेरै फरक छ । आजभन्दा झण्डै १५ वर्षअघि विदेश जानेहरूको अवस्था अलिक फरक थियो । त्यो बेलामा भिजिट भिसामा गएर काम खोज्नेहरू कमै थिए । मोटो रकम एजेन्टको हातमा थमाएपछि मात्र श्रमिक भिसामा विदेश आउन पाइन्थ्यो ।
खाडी मुलुकमा आउन पनि निकै कठिन थियो । त्यो बेला एउटा सामान्य परिवारमा जन्मिएको छोराले युरोप र अमेरिकाको सपना देख्न कहाँ सक्थ्यो र । त्यो अवस्थामा कोही युरोप गयो भने ठुलो सम्मान र आउँदा ठुलो सान हुन्थ्यो । फर्कँदा नाम पनि लिएर आउँथेँ । जर्मनबाट आउनेको जर्मने भनेर गाउँ ठाउँमा नाम चल्थ्यो ।
त्यो बेलादेखिको सान अहिले पनि छ समाजमा । तर खाडीबाट आउनेलाई गाउँ समाजमा डोरी लाहुरे भन्नेहरू पनि भेटिन्थेँ । मलाई भने समाजमा नाम भन्दा पनि काम चाहिएको थियो । लाखौँको बिटो साथमा थिएन । जति थियो, जुन आफ्नो औकात थियो त्यही अनुसार म अरबतिर हानिएँ ।
अरब आएपछि बल्ल थाहा भयो । यहाँको काम के हुँदो रहेछ भनेर । सुरु सुरुमा त काम गर्न नसकेर घर नै फर्किन मन लाग्यो । एजेन्टलाई दिएको पैसा र घरको अवस्थाले मलाई जस्तो सुकै काम गर्न पनि बाध्य बनायो । बिस्तारै काम गर्न बानी बस्दै गयो । अरब तिर नै रमाउन र कमाउन थालेँ ।
समय बित्दै गयो । अरब छोडेर युरोप तिर जाने बिचार नआएको पनि होइन । पहिलाभन्दा अवस्था सहज पनि भएको थियो । साथीभाइ पनि युरोप जान भनिरहेका थिए । कुराकानीको क्रममा उनीहरूले युरोपमा भएकोमा आफूमा ठुलो गर्व गर्थेँ । तर मलाई कहिले पनि युरोपको मोहले छोएन । देश जुन भए पनि म खुसी छु ।
तर गाउँ बेसी, टोल सहरदेखि देशमा युरोप र खाडीको श्रमिकलाई हेर्ने फरक दृष्टिकोण छ । घर जाने क्रममा यस्ता घटनाले धेरैपल्ट छुने गरेको छ । युरोपबाट आउनेहरूलाई गर्ने व्यवहार र खाडीबाट जाने मजस्तालाई गर्ने व्यवहार नै फरक हुन्छ ।
गाउँ समाज त परको कुरा खाडीबाट जाने र युरोपेली देशबाट आउनेलाई विमानस्थलमा गरिने व्यवहार समेत फरक हुन्छ । घरी घरी त देशले नै हामीलाई अर्को नजरले हेर्छ कि जस्तो लाग्छ ।
तर म खुसी छु । युरोप जान नसकेको मलाई दुःख छैन । जे छ त्यसमा मानिसले रमाउन सक्नुपर्छ । खाडी भए पनि अमेरिका युरोप भए पनि आखिर कमाउने त पैसा न हो । जहाँ कमाए पनि नेपाल गएर साट्दा रुपियाँ नै बन्छ । उज्ज्यालो अनलाईनमा प्रकाशित छ
प्रतिक्रिया लेख्नुहोस्:-