काठमाडौं– साउदी अरबले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएहरूलाई बुस्टर डोज दिने निर्णय गरेको छ । साउदीको स्वास्थ्य मन्त्रालयले गत सोमबार कोभिड–१९ को खोप लगाएको ३ महिना पुगेकाहरूलाई बुस्टर डोज लगाउने निर्णय गरेको हो ।
कोभिडविरुद्धको खोपको दोस्रो मात्रा लगाएको ३ महिनापश्चात नै बुस्टर डोजका रूपमा तेस्रोपटक खोप दिन लागिएको त्यहाँका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । समाचार अनुसार दोस्रो मात्रा खोप लगाएको ३ महिना पुगेका जुनसुकै व्यक्तिलाई पनि बुस्टर डोज लगाउन पाउने छन् । बुस्टर डोजको खोपका लागि समय लिन तवाक्कलना÷सेहती एप्लिकेसनको प्रयोग गर्नु पर्ने जनाइएको छ ।
कोभिड–१९ विरुद्धको बुस्टर डोजले कोभिडविरुद्ध लड्ने शक्ति बढाउने भएका कारण तेस्रो मात्रा छिट्टै दिन थालिएको साउदी स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुस्टर डोज लगाएकाहरूको कोभिड–१९ को पछिल्लो भेरिएन्ट ओमिक्रोनविरुद्ध लड्ने क्षमता २५ प्रतिशत धेरै देखिएको समाचारमा जनाइएको छ । यसअगाडि साउदी अरबको आन्तरिक मन्त्रालयले आगामी १ फेब्रुअरीदेखि साउदीमा बसोबास गर्नेहरू र साउदी अरबका नागरिकहरूलाई बुस्टर डोज लगाउने निर्णय गरिसकेको पनि समाचारमा जनाइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-