काठमाडौं। संयुक्त अरब इमिरेट्सले पहिलो पटक क्यानडाका एक गैर मुस्लिम जोडीको लागि वैवाहिक प्रमाणपत्र जारी गरेको छ । क्यानडाको यो जोडीले यसको लागि युएइ सरकारलाई आभार व्यक्त गरेका छन् । यो खाडी देशले पछिल्ला केही दिनमा धेरै परिवर्तन गरिसकेको छ । युएइमा बस्ने एक करोड मानिसमध्ये ९० प्रतिशत विदेशी छन् । त्यसैले युएइले मुस्लिमहरुबाहेक अन्य धर्मका कानिसहरुलाई पनि सहज हुने गरी धेरै परिवर्तन गरिसकेको छ ।
नोभेम्बरमा युएइले गैर मुस्लिमहरुको लागि व्यक्तिगत मामिलाको छुट्टै कानुन बनाएको थियो । यही नयाँ कानुनअनुसार क्यानडाको यो जोडीको बिहे भयो र पहिलो वैवाहिक प्रमाण पत्र जारी गरियो । युएइको यो कदमबाट उसले विश्वभरबाट दक्षता र विशेषज्ञता हासिल गर्न सहयोग मिल्ने विश्वास गरिएको छ । मध्यपूर्व इस्लाम इसाइ र यहुदी धर्मको जन्मस्थल हो । तीनवटै धर्मको लागि यहाँ विवाहका अलग अलग नियम छन् । यद्यपि ट्युनिशिया र अल्जेरियामा सिभिल म्यारिजको अनुमति छ । सिभिल म्यारिज भनेको कुनै पनि धर्मलाई आधार नबनाइ गरिएको विवाह हो जसले कानुनी मान्यता पाउँछ ।
युएइले बनाएको नयाँ कानुनअनुसार गैर मुस्लिमका लागि सिभिल म्यारिजको पंजीकरण सेवा अबु धाबी न्यायिक विभागको आधिकारिक वेबसाइटमा उपलब्ध हुनेछ । विवाहको पंजीकरण भिडियो कन्फ्रेन्सबाट गर्न सकिनेछ । एडिजेडीका अण्डर सेक्रेटरी युसुफ सइद अल अब्रीले अबु धाबीको अदालतले पहिलो पटक गैर मुस्लिमको लागि वैवाहिक प्रमाण पत्र जारी गर्नु अरब क्षेत्रको लागि उदाहरण बन्ने बताए । उनले यो कानुन अन्तर्राष्ट्रिय मानकअनुसार भएको भन्दै यसले इस्लामको सकारात्मक छवि पेश गर्ने र सहिष्णुतालाई दर्शाउने बताए ।
युएइको यो कदमको अन्तर्राष्ट्रिय स्तरमा प्रशंशा भइरहेको छ । बीबीसी वर्ल्डमा मध्यपूर्व मामिलाका सम्पादक सेबेस्टियन उमेरले एक ट्वीटमा लेखेका छन् ‘अबु धाबीमा गैर मुस्लिम अदालतमा पंजीकृत पहिलो विवाह । यो देशको अधिक उदार छवि पेश गर्ने प्रयास अन्तर्गत गरिएको हो ।’ युएइले यसअघि नै अविवाहित जोडीलाई लिभ इन रिलेशनमा बस्न अनुमति दिइसकेको छ । यसका साथै मदिरा र लामो समयको भिसाको नियम पनि खुकुलो पारिएको छ । जनवरी १ देखि युएइमा शुक्रबारको सट्टा पश्चिममा जस्तै शनिबार र आइतबार विकेण्ड हुनेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-