काठमाडौँ — अरु देशका कामदारहरुले पाउने ज्यालाको तुलनामा नेपालबाट वैदेशिक रोजगारीमा गएका कामदारहरुले न्यून ज्याला पाउने समस्या बढ्दै गएको देखिएको छ ।
परराष्ट्रमन्त्री नारायण खड्काले नेपालबाट अदक्ष र अवैध रुपमा कामदार जाने गरेका कारण न्यून ज्यालामा काम गर्नुपरेको र यस्तो प्रवृत्ति बढ्दै गएको बताए ।
नेपाली कामदारहरुले पाउने ज्यालामा देखिएको विभेदका लागि कामदार स्वयं जिम्मेवार रहेको र सरकारले पनि यसलाई नजरअन्दाज गर्न नसकेको उनको भनाइ छ । ‘हामी जसरी पनि विदेश जाने भनेर सोच्छौं । सीप सिकेर गए आम्दानी पनि बढी हुन्थ्यो । तर, हामीले अदक्ष कामदार पठाएर श्रम शोषणका लागि आफै बाटो बनाइरहेका छौं,’ परराष्ट्रमन्त्री खड्काले भने ।
सम्बन्धित पक्ष र सरोकारवाला निकायहरुले वैदेशिक रोजगारमा जाने कामदारलाई सीप तथा दक्षताका हासिल गर्नका लागि पहल गर्न नसकेको पनि उनले बताए ।
त्यस्तै, अल्पविकसित र विकासशील मुलुकहरुबाट कामदार लैजाँदा सस्तो ज्याला तिरे पुग्ने भएका कारण पनि नेपालका कामदारहरु थोरै पैसामा विदेशीरहेकोसमेत खड्काले बताए । ‘केहि देशहरुले अझै पनि नेपालबाट कामदारहरु लैजाने भनिरहेका छन । भिसा निःशुल्क गरेका मुलुकहरु पनि छन । उनीहरुको पनि आवस्यकता बढेको छ,’ तर वैदेशिक कामदारका सन्दर्भमा हाम्रो नीति स्पष्ट हुन जरुरी छ ।
प्रतिक्रिया लेख्नुहोस्:-