काठमाडौं- बाक्लो हुस्सु र कुहिरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ठप्प भएको छ। हुस्सुले गर्दा भिजिबिलिटी कम भएपछि सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्। बिहानैदेखि नै आन्तरिक उडान हुन सकेका छैनन् भने कुनै पनि अन्तर्राष्ट्रिय विमान पनि अवतरण गर्न सकेका छैनन्। बिहानैदेखि उडान रोकिदा यात्रु समस्यामा परेका छन्।
यस्तै बाक्लो कुहिरो र हुस्सुले एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थल ठप्प भएपछि ८ वटा अन्तर्राष्ट्रिय विमानले आकाशमा फन्को मारिरहेका छन्। काठमाडौंको विमानस्थल हुस्सुले ठप्प भएपछि जजिरा एयरलाइन्सका दुई, हिमालय एयरलाइन्सका तीन वटा र कतार, फ्लाई दुबई तथा नेपाल एयरलाइन्सका एक एक विमानले निजगढको आकाशमाथि फन्को लगाइरहेका हुन्।
बिहान सबैभन्दा पहिले आएका जजिरा एयरलाइन्सका दुई विमान जिनगढको आकाशमाथि होल्ड भएका थिए। त्यसपछि हिमालय एरलाइनसको विमान थपियो। त्यसको केही समयमा कतार र फ्लाई दुबईको विमान निजगढको आकाशमाथि फन्को लगाउन पुगेका हुन्। केहीबेरअघि हिमालय एयरलाइन्सका थप दुई विमान पनि निजगढको आकाशमाथि फन्को लगाइरहेका छन्।
हुस्सुका कारण भिजिबिलिटी कम भएपछि विमान आकाशमै फन्को लगाउन बाध्य भएका हुन्। हुस्सुका कारण आन्तरिक विमान पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न सकेका छैनन्। यसरी फन्को लगाइरहेका धेरैजसो विमान कतारको दोहाबाट आएका हुन्।
कुवेतबाट आएको जजिरा एयरलाइन्सको जहाज तालिका अनुसार बिहान ६:५० मा अवतरण हुनुपर्ने पर्ने थियो। तर साढे ३ घण्टादेखि नेपाली आकाशमा जहाज घुमिरहेको छ। यो जहाजले अहिलेसम्म ३० पटकभन्दा बढी नेपाली आकाशमा घन्को मारिसकेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-