जिल्ला प्रशासन कार्यालय लमजुङले राहदानी सेवाका लागि सिफारिस सेवा सुरु गर्ने भएको छ । एक महिनाभन्दा बढी समय अघिदेखि बन्द भएको राहदानी सिफारिस सेवा पुनः सुरु गर्ने भएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको हो ।
जिल्ला प्रशासन कार्यालय लमजुङले शुक्रबार एक सूचना जारी गर्दै अबदेखि कार्यालयले द्रुत राहदानी सेवाका लागि विभागमा आवेदन दिने सेवाग्राहीलाई सिफारिस गर्ने भएको हो । राहदानी विभागबाट विद्युतीय राहदानी ई–पासपोर्ट जारी गर्ने काम सुरु भएको अवस्थामा मंसिर ७ गतेबाट जिल्लामा सिफारिस सेवा बन्द भएको थियो ।
विद्युतीय राहदानी वितरणका लागि प्राविधिक समस्या देखिएपछि पुनः जिल्ला प्रशासन कार्यालयको सिफारिस अनिवार्य भएको विभागले जनाएको छ । विभागले प्रशासन कार्यालयलाई सिफारिस सेवा सुरु गर्न परिपत्र जारी गरेसँगै कार्यालयले सेवा सुरु हुने जानकारी गराएको हो ।
यसअघि जिल्ला प्रशासनबाट हुने फारम संकलन तथा द्रुत सिफारिससम्बन्धी काम नगर्नु भन्ने निर्देशन आएपछि प्रशासनले काम रोकेको थियो । तत्काल राहदानी आवश्यक सेवाग्राहीका लागि विभागले नै विद्युतीय–पासपोर्ट दिने व्यवस्था मिलाएको छ । ई–पासपोर्ट लिनका लागि सेवाग्राही आफैले अनलाईनमार्फत निवेदन दिन सक्नेछन् भने थप प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालयको सिफारिस अनिवार्य पेस गर्नुपर्ने प्रावधान बनेको हो ।
तत्काल राहदानी आवश्यक परेका नागरिकले राहदानी विभागको वेबसाइटबाट घरैमा बसेर पनि भर्न सकिन्छ । त्यसरी भरेको फारम र तस्बिरसहित आवेदकको स्पष्ट नाम, थर, ठेगाना, बाबुको नाम थर, नागरिकता नम्बर र जारी मितिलगायतको विवरण लिएर जिल्ला प्रशासन कार्यालयमा सेवाग्राही आउनुपर्ने प्रशासकीय अधिकृत जगदिश मिश्रले बताए ।
सेवाग्राहीले समावेश गरेको विवरण जाँचबुझ गरी जिल्ला प्रशासन कार्यालयले प्रमाणीकरण गर्ने र राष्ट्रिय परिचय पत्र वा सोको नम्बरसमेतका आधारमा सिफारिस उपलब्ध गराउने प्रशासनले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-