काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थलमा बिदाइ तथा स्वागतका नाममा अनावश्यक भीडभाड नगर्न आग्रह गरेको छ । कार्यालयले सार्वजनिक अनुरोध प्रकाशित गर्दै कोरोनो संक्रमणसँगै नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढ्दै गएकाले विमानस्थल परिसरमा अनावश्यक भीडभाड नगर्न अनुरोध गरेको हो।
यस्तै, विमानस्थलले कोभिड १९ का विभिन्न भेरियन्ट उत्परिवर्तन भइरहेको र हालै नयाँ भेरियन्ट ओमिक्रोनसहित छिमेकी मुलुकहरुमा कोभिड १९ तीव्ररुपमा फैलिरहेको भन्दै संक्रमणबाट आफू बच्न तथा अरुलाई बचाउन अनिवार्य स्वास्थ्य मापदण्ड पालन गर्न आग्रह गरेको छ।
विमानस्थलले हवाई यात्रा गर्दा अपनाउनुपर्ने स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्डहरुको परिपालना गरि गराइ मात्र दैनिक हवाई सेवा सुचारु गराउन सम्वद्ध सबै सरोकारवालाहरुसँग अनुरोध गरेको छ। विमानस्थल कार्यालयबाट अति नै जरुरी अवस्थाबाहेक ‘भिजिटर पास’ उपलब्ध नगराउने समेत स्पष्ट पारेको छ।
पछिल्लो समय नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण तीव्ररुपमा फैलिरहेको छ। सोमबार एकैदिन १४ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोनासँगै ओमिक्रोन भेरियन्ट संक्रमण पनि देखिएको छ। ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २७ पुगेको छ। छिमेकी मुलुक भारतमा पनि कोरोनासँगै ओमिक्रोन तीव्ररुमा फैलिरहेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-