काठमाडौं । एकसता अघि मलेशियामा मृत्यु भएका तेह्रथुमका दिलकुमार बुढाथोकीको शव आज नेपाल आउने भएको छ । उनको शव मलेशियाबाट बुधबार आउने दिलकुमारका दाइ तुलसी बुढाथोकीले बताएका छन् ।
गएको हप्ता उनको सुतेकै अवस्थामा ज्यान गएको मलेशियामा कार्यरत नेपालीहरुले बताएका छन् । दिलकुमार आठराई गाउँपालिका- ६, तत्कालीन चुहानडाँडा गाविस ४ भदौरेका हुन् । ३४ वर्षका उनी करिब ४ वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा मलेशिया पुगेका थिए ।
उनको मृत्युकाे ठोस कारण खुल्न सकेको छैन । कम्पनीले सबै रिपोर्टहरु तयार गरेको भए पनि मृत्युको खास कारण भने खुलाएको छैन । कम्पनीमा सँगै काम गर्ने नेपाली कामदारहरुका अनुसार उनी सामान्य अवस्थामै थिए, मृत्यु भएको अघिल्लो दिनसम्म । सामान्य अवस्थामै रहेका उनले त्यो दिन कोरोना भाइरसविरुद्धको तेस्रो डोज खोप पनि लगाएको उनका साथीहरुले बताएका छन् ।
कोरोना खोपमाथि शंका
मृतक दिलकुमारका भान्जा रोशन दंगालका अनुसार अघिल्लो दिन कोरोना भाइरसविरुद्धको तेस्रो डोज खोप लगाएका थिए । त्यसै राति उनी बिते ।
‘कुनै पनि समस्या नभएर मामा सामान्य अवस्थामा हुनुहुन्थ्यो । अघिल्लो दिन कोरोनाको खोप चाहिँ लगाउनुभएको थियो रे । उहाँका साथीहरुले भनेको,’ दिलकुमारका भान्जा रोशनले न्यूज २४ सँग भने, ‘राति खाना खाएर उहाँ आफ्नो बेडमा सुत्न जानुभयो। हामी हाम्रो कोठामा सुत्यौँ । हामी बिहान उठ्यौँ । तर उहाँ उठ्नुभएन।’
रोशन हाल मलेशियामै कार्यरत छन् । उनलाई पनि कोरोनाको खोपले केही असर गरेको सुनाए । रोशनलाई मृत्युको कारण मेडिकल रिपोर्टबारे सोध्दा हर्टआट्याक भनेर भनेको बताएका छन् । तर त्यो कुनै ठोस रुपमा प्रमाण नदिएर कम्पनीले दावी गर्दै आएको मात्रै बताए ।
उता दिलकुमारको परिवारले पनि मृत्यु हुनुअघि सञ्चै भएको भन्दै कुराकानी गरेको बताएको छ । दिलकुमारका दाइ तुलसी बुढाथोकीले भाइले अघिल्लो दिन आफू सञ्चै भएको भन्दै फोनमा कुरा भएको सुनाए ।
प्रेम संघर्ष
दिलकुमारले १० वर्षअघि तेह्रथुमकै एक क्षेत्री परिवारकी युवतीसँग प्रेम विवाह गरेका थिए । उनी क्षेत्रीकै छोरा भए पनि भागी विवाह गरेका थिए । लामो समयसम्मै उनको प्रेम चल्यो । तर माग्न जाँदा युवतीका आमाबुबाले नदिने सम्भावना बढेपछि उनले भगाएर बिहे गर्ने निधो गरे । र, उनले चैतको बेला भगाएर घर त्याउने प्रयास गरेका थिए ।
उनले भगाउन लागेको सुइँको पाएपछि युवतीका बुबाले उनीहरुको पिछा गर्दै तमोर खोलासम्म पछ्याएर छोरी फर्काउने गरेका थिए । त्यसपछि हुनेवाला ससुरा र दिलकुमारबीच तमोर खोलामा झण्डै हात हालाहाकै स्थिति उत्पन्न भएको उनले सुनाएका थिए । तर उनी आफ्नी प्रेमिकालाई भगाउन सफल भए ।
उनीहरुको विवाह पनि भयो । उनीहरुको छोरा पनि जन्मियो । तर दिलकुमार आर्थिक समृद्धि र सुखद भविष्यका लागि विदेशिन पुगेका थिए । त्यहीबाट उनकाे दु:ख सुर भयाे ।
श्रीमतीबाट धोका
दिलकुमार विदेशिएको २ वर्षपछि उनकी श्रीमती अर्कै पुरुषसँग विवाह गरेर पाेइला गइन् । हाल उनीहरुको एक सन्तान छोरा छन् । ती छोरा दिलकुमारका दाई तुलसीकाे काखमा छन् ।
श्रीमतीबाट धोका पाएपछि उनी पीडामा थिए । तर उनलाई बाँच्ने रहर भने थुप्रै थियो । उनी आफ्नो छोरासँग दिनहुँजसो म्यासेन्जरमा कुरा गर्ने गर्दथे । र, खुसी साट्ने गर्दथे ।
सधैँ बुबा-आमा खोज्ने भतिजोलाई बुबासँग फेसबुक म्यासेन्जरमा कुराकानी गराउँदै आएकाे तुलसीले बताए । कुरा गर्दा खुसी हुने बालकको त्यो चाहना र खुसीमा पनि अब कहिल्यै नखुल्ने बादल लागेको छ । Source News 24 Nepal
प्रतिक्रिया लेख्नुहोस्:-