जापानले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सीमित आधारमा प्रतिबन्धका वावजुद प्रवेश अनुमति दिने योजना बनाईरहेको छ । देशभर ओमिक्रोन संक्रमणको बृद्धिको बीचमा जापानले नयाँ भिषा बाहक विदेशीहरूलाई प्रवेश प्रतिबन्ध जारी राखेको छ ।
मुख्य प्रस्तावले विदेशी आगमनमा लगभग सबै प्रतिबन्धलाई खुकुलो गर्ने छ, तर तत्काल केवल सरकारी प्रायोजित विद्यार्थीहरू जो स्नातक गर्दैछन् वा जापानमा बिना कुनै कमाई आफ्नो शिक्षामा प्रगति गर्न सक्दैनन् भने उनिहरुका लागि खुकुलो गरिनेछ । यस्तो छुट सम्भवतः केहि सय व्यक्तिहरूमा मात्र लागू हुनेछ ।
मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले मंगलबार पत्रकारहरूलाई भनेका छन् ‘हामी देशमा प्रवेशको पर्खाइमा रहेका विदेशी विद्यार्थीहरूको लागि कसरी सहज गर्न सकिन्छ भन्ने बारेमा विचार गरिरहेका छौं ।’
तर यो चरण पूर्ण रुपमा प्रवेश खोल्ने विषय भन्दा टाढा हुनेछ, जुन धेरैले पर्खिरहेका छन् । धेरै लामो समयसम्म विद्यार्थीहरूलाई टाढा राख्दा जापानलाई भविष्यको प्रतिभा गुमाउन सक्छ भन्ने चिन्ता बढ्दै गए पनि जापानले प्रमुख अर्थतन्त्रहरूका बीचमा असामान्य रूपमा कडा सीमा नियन्त्रणहरू कायम राखेको छ ।
शिक्षा मन्त्रालयका अनुसार मे २०२० सम्ममा जापानका करिब २८०,००० विदेशी विद्यार्थीमध्ये ८,७६१ जनाले मात्र सरकारी छात्रवृत्ति पाएका थिए । निजी खर्चमा अध्ययनमा आउने विद्यार्थीहरूलाई छुट विस्तार गर्ने कि नगर्ने भनेर सरकारले छलफल जारी राख्नेछ ।
जापानमा प्रवेश गर्ने अनुमति पाउने विद्यार्थीहरूले कोरोना भाइरसको अत्यधिक संक्रामक ओमिक्रोन प्रकारलाई रोक्नको लागि लगाईएका अन्य प्रतिबन्धहरूको सामना गर्नुपर्नेछ । जस्तो कि प्रवेश संख्या र सेल्फ आइसोलेसन अवधिहरू लगायत । यो सुविधामा आउने विद्यार्थीहरूले भाइरस फैलाउने जोखिमलाई कम गर्न विमानस्थल क्षेत्रमा तोकिएका सुविधाहरूमा क्वारिन्टिनमा बस्नुपर्नेछ ।
जापानले नोभेम्बरको अन्त्यदेखि लगभग सबै नयाँ विदेशी आगमनहरूमा प्रतिबन्ध लगाएको छ, जसमा सरकार प्रायोजित अन्तर्राष्ट्रिय विद्यार्थीहरू समेत रहेका छन् । जसलाई पहिलेका प्रतिबन्धहरूमा छुट दिइएको थियो । निजी खर्चमा अध्ययनमा आउने विद्यार्थीहरू पूर्ण रूपमा प्रतिबन्धको शिकारमा परेका छन् । जसले करिव दुई बर्षदेखि प्रवेश पाएका छैनन् ।
प्रधानमन्त्री फुमियो किशिदाले मंगलबार प्रवेश प्रतिबन्ध फेब्रुअरीको अन्त्यसम्म लम्ब्याइने घोषणा गर्दा ‘मानवीय र राष्ट्रिय हितलाई ध्यानमा राखी आवश्यक प्रतिक्रियाहरू लिने’ बताएका थिए ।
जापान प्रवेश गर्न नसकेका विद्यार्थीहरूले अनलाइन पाठ्यक्रमहरू लिने जस्ता विकल्पहरू खोजेका छन् । केहीले दक्षिण कोरिया जस्ता अन्य गन्तव्यहरू छनौट गरेर लामो प्रतिबन्धको विकल्प रोजिसकेका छन् । जापानको सत्तारुढ गठबन्धनका सदस्यहरूले यो प्रवृत्तिले देशको हितमा हानि पुऱ्याउन सक्ने चिन्ता व्यक्त गरेका छन् ।
अध्यागमन सेवा एजेन्सीको तथ्याङ्कले देखाउँछ कि २०१९ मा करिब १२०,००० मानिस विद्यार्थी भिसामा जापान प्रवेश गरेका थिए । २०२१ को पहिलो १० महिनामा केवल ९,९३० जना मात्रै प्रवेश गरेका थिए ।
सरकारले नयाँ कोरोना भाइरस भेरियन्टहरू देखा परेपछि जनवरी २०२१ मा विदेशी आगमनमा प्रतिबन्ध लगाएको थियो । यस्ता नियन्त्रणका उपायहरुलाई नोभेम्बरको सुरुमा व्यापारीहरू र विद्यार्थीहरूलाई प्रवेश अनुमति दिन सजिलो बनाइएको थियो, तर जापानमा ओमिक्रोन भेरियन्ट पुष्टि भएपछि हप्तादिन पछि नै फेरि कडा गरिंदा हाल नव प्रवेशी सबै भिषा बाहकहरुलाई जापान प्रवेशमा रोक लगाईएको छ ।












प्रतिक्रिया लेख्नुहोस्:-