बार्सिलोना । नेदरल्यान्ड्सको पुरमेरेन्डमा आइतबार साँझ स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका एक नेपालीको उपाचारको क्रममा मृत्यु भएको छ ।
दाङ घर भई नेदरल्याण्ड बस्दै आएका ५६ वर्षीय विकास शर्माको एम्स्टर्डम मेडिकल कलेजमा आइतबार राति नै उपाचारको क्रममा मृत्यु भएको हो । मृतक शर्माका श्रीमती, एक छोरा र एक छोरी नेदरल्यान्ड्समा नै रहेका छन्।
एनआरएनए नेदरल्याण्डस पूर्वअध्यक्ष मनोहरी शर्माका अनुसार पैदलयात्रा गरिरहेका उनलाई तीव्र गतिमा गुडेको स्कुटरले ठक्कर दिएको थियो। ‘आफ्नै पसलबाट घर फर्केने क्रममा दुर्घटना भएको हो । ‘बसबाट झरेर उहाँ घरतर्फ जादै हुनुहुन्थ्यो। दुर्घटनालगत्तै हेलिकप्टरमार्फत अस्पताल पु-याइएको थियो । तर उपाचार हुँदै गर्दा उहाँको निधन भएको हो,’ पूर्वअध्यक्ष शर्माले भने।
गम्भीर चोट लागेर घाइते भएका शर्माको टाउकोको शल्यक्रिया गरिएको भए पनि सफल हुन नसकेको पारिवारिक स्रोतले जनाएको छ । स्कुटरमा सवार दुई जना पनि घाइते भएको बताइए पनि घटनाबारे प्रहरीको आधिकारिक रिपोर्ट प्राप्त भइनसकेको शर्माले बताए।
विगत १६ बर्षदेखि नेदरल्यान्ड्समा बस्दै आएका शर्मा व्यवसायमा पनि संग्लग्न थिए । उनी नेपाली कांग्रेसको १३औं महाधिवेशनमा नेपाली जनसम्पर्क समिति नेदरल्यान्ड्सबाट महाधिवेशन प्रतिनिधिको रुपमा पनि चुनिएका थिए ।
एनआरएनए युरोप क्षेत्रीय संयोजक नारायण आचार्यले शर्माको मृत्युप्रति दु:ख व्यक्त गर्दै नेदरल्यान्ड्सले मात्रै नभई सिंगो युरोपले नै एक सामाजिक व्यक्तित्व गुमाएको बताए। आचार्यका अनुसार मृतक शर्माको बुधबार नेदरल्याड्समा अन्तिम बिदाइसहित अन्त्येष्टि गरिँदैछ ।
प्रतिक्रिया लेख्नुहोस्:-