काठमाण्डाै – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा विदेश पुर्याइ नेपाली नागरिकलाई अलपत्र बनाउने वैदेशिक रोजगार व्यवसायीहरूलाई सरकारले कारबाही गर्ने बताउनु भएको छ ।
आज बिहीवार मन्त्रालयमा भिजिट भिसामा यूएई पुगेर अलपत्र भइ फर्केकाहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले आकर्षक रोजगारीको प्रलोभन देखाइ विदेशमा अलपत्र बनाउने दलाल र म्यानपावर कम्पनीहरूको फन्दाबाट जोगाउन सरकारले मन्त्रालयका उपसचिव तथा सीआईबीका प्रहरी नायब उपरीक्षक सम्मिलित मार्शल टिम गठन गरेको बताउनुभयो ।
मन्त्री श्रेष्ठले भिजिट भिसामा यूएई लगेर अलपत्र बनाउने दलालहरूलाई क्षमासमेत दिन नमिल्ने भन्दै सरकारले दलालहरूलाई खोजी–खोजी कारबाही गर्ने बताउनु भयो । उहाँले विदेश जाने नेपालीहरूले पनि एक पटक कम्पनी र कामको बारेमा बुझेर जानुपर्ने बताउनु भयो । उहाँले आउँदो आइतवारदेखि मन्त्रालयमा २४ सै घण्टा सेवा उपलब्ध हुने गरी गुनासो सेन्टर स्थापना हुने बताउनु भयो ।
मन्त्री श्रेष्ठले भन्नुभयो, ‘हामीले दलालहरूलाई, ठगहरूलाई तह लगाउने गरी मार्शल टिम गठन गरेका छौँ । म के चेतावनी दिन चाहन्छु भने अब पानीमुनि गए पनि अपराध गर्नेहरूलाई छोडिँदैन । कि आत्मसमर्पण गरेर आफूले गरेका गल्ती स्वीकार गरी झुक्याएर, ठगेर लगिएका नेपालीलाई छिटो भन्दा छिटो नेपाल पठाउँछु भन्नुपर्छ । मान्छेबाट गल्ती हुन सक्छ तर यो गल्ती स्वीकार गर्न सकिने गल्ती छैन । यूएईमा बसेर नेपाली सोझा मानिसलाई दुःख दिने काम गर्नेहरूलाई यो सरकारले छोड्ने छैन ।’
त्यस्तै पीडितहरूले एक महिनासम्म काम लगाइदिने आशा गरेर बसे पनि काम नपाएपछि नेपाल सरकारलाई गुहारेको बताउँछन् । आकर्षक पारिश्रमिक हुन्छ भन्ने आशाले भिजिट भिसामा यूएई गए पनि दलालहरूले कुनै रोजगारी नदिएको उनीहरूले गुनासो गरेका छन् । पीडितहरूले भिजिट भिसामा जानु आफ्नो गल्ती भए पनि गएपछि बेरोजगारी बनेर काम नपाइनुले थप समस्या सिर्जना भएको बताए ।
पीडितहरूले त्यहाँ रहेको दूतावासले कुनै पनि सहयोग नगरेको गुनासो गरेका छन् । आर्थिक स्राेत कमजोर भएको र आकर्षक रोजगारी पाउने लोभको कारणले बाध्य भएर भिजिट भिसामा गएको तर दलालहरूले दुबई विमानस्थलमा पासपोर्ट र एक हजार डलर समेत लगेको उनीहरूले गुनासो गरेका छन् ।
संयुक्त अरब इमिरेट्स (यूएई) का स्थानीय र अन्तर्राष्ट्रिय कम्पनीले नेपाली कामदारलाई यसरी लैजानु यूएई र नेपाल सरकारबीच भएको श्रम सम्झौता विपरीत हो । लामो समय बेखबर जस्तो बनेको नेपाल सरकार केही दिनयता तातेको छ । हजारौँ नेपाली रोजगारीको प्रलोभनमा परी भिजिट भिसामा यूएई पुग्ने र अलपत्र पर्ने क्रम बढेसँगै वैदेशिक रोजगार व्यवसायीलाई नै सरकारले कारबाही गर्ने भएपछि उनीहरूले मान्छे फिर्ता ल्याउन पनि थालेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-