काठमाडौं– राहदानी विभागले बिहान ७ बजेदेखि नै सेवा सुरु गर्ने भएको छ । अरु सरकारी कार्यालयले सामान्यतया बिहान १० बजेदेखि मात्र सेवा दिने गरे पनि विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि अनलाइन बुकिङ अर्थात् ‘प्रि–इनरोलमेन्ट’ गरेकाहरूलाई बिहान सात बजेदेखि नै सेवा दिने भएको हो । पुरानो बुकिङ भएकाहरूलाई बिहान सात बजेदेखि दश बजेभित्र राहदानी विभाग, त्रिपुरेश्वरमा आउन विभागले अनुरोध गरेको छ ।
यसअघि विद्युतीय राहदानीको लागि अनलाइन बुकिङ गरिसकेका, तर कोरोनाको कारण बुकिङ रद्द गरिएका सेवाग्राहीहरूलाई लक्षित गरी उक्त समयमा सेवा दिने तयारी गरिएको विभागका सूचना अधिकारी शरखराज अरनले जानकारी दिएका छन् । उनका अनुसार नयाँ बुकिङ हुने क्रम पनि चलिरहेकाले कामको चापलाई कम गर्न बिहान सेवा दिने तयारी गरिएको हो ।
पुरानो बुकिङ र नयाँ आवेदकहरूलाई एकसाथ विद्युतीय राहदानी वितरण गर्दा सेवाग्राहीको धेरै चाप हुने स्थितिलाई मध्यनजर गर्दै सो निर्णय गरिएको उनले बताए ।
केही समय कोरोनाका कारण रोकिएको सेवा प्रभाव अहिले पुरानै अवस्थामा सञ्चालन भइसकेको छ । यस्तै राहदानी विभागमा सेवाग्राहीको संख्या बढी भएमा सबैभन्दा पुरानो बुकिङलाई पहिलो प्राथमिकता दिने विभागले जनाएको छ । विभागमा वैदेशिक रोजगारीमा जानेहरूले सबैभन्दा धेरै राहदानी बनाउने गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-