काठमाडौं। अवैध रुपमा टर्कीबाट युरोपेली देश ग्रिस प्रवेश गर्न खोजेका नेपाली सहित १९ जना आप्रवासीको हिउँमा जमेर मृत्यु भएको छ । टर्कीको सानो सहर एडिर्नेको गभर्नर कार्यालयलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार शवहरु भेटिएको ठाउँमा खोजी र उद्धार कार्य भइरहेको छ । गृहमन्त्री सुलेमान सोयलुका अनुसार मारिनेहरु २२ जनाको समूहमा थिए । सोयलुका अनुसार १९ जना इप्सालामा हिउँले कठ्यांग्रिएर मारिए ।
इप्साला युरोपेली संघ प्रवेश गर्नको लागि प्रयोग गरिने सीमा क्षेत्र हो । हिउँको तुफानबाट बाँच्न सफल भएकाहरुका अनुसार यसरी युरोप प्रवेश गर्न खोज्ने समूहमा नेपालीहरु पनि थिए । बाँच्न सफल भएकाहरुले टर्कीको हुर्रियत डेलीन्यूजसँग कुरा गर्दै आफूहरुलाई खाना समेत नदिएर ग्रीसको एउटा क्याम्पमा राखिएको बताएका छन् । सोही समूहमा रहेका बंगलादेशी रियाज एका अनुसार उनीहरु जनवरी ३१ मा ग्रीस प्रवेश गरेका थिए त्यसपछि ग्रीक सुरक्षाकर्मीले उनीहरुलाई पक्राउ गरेर क्याम्पमा पठाएका थिए ।
‘उनीहरुले हामीलाई ३ दिनसम्म खाना पानी केही पनि दिएनन् । त्यहाँ हिमपात भइरहेको थियो र हामीसँग त्यसबाट बच्नको लागि उपयुक्त कपडा थिएनन्’ रियाजले भने । उनका अनुसार त्यसपछि ग्रीक सुरक्षाकर्मीहरुले उनीहरुलाई फेरि टर्कीतर्फ नै धपाइदिए । उनका अनुसार त्यसपछि कठिन यात्रा गर्दै उनीहरुले अन्ततः एउटा गाडी भेटेर सहयोग मागेपछि बच्न सफल भएका थिए । रियाजका अनुसार उनी गएको समूहमा पाकिस्तानी, अफ्रिकी, नेपाली र अफगानीहरु थिए र उनीहरु सबै मरे ।
प्रतिक्रिया लेख्नुहोस्:-