काठमाडौं : दक्षिण कोरियाले तत्कालका लागि नेपाललगायत अन्य देशबाट श्रमिक लैजान रोक लगाएको छ । कोरोना भाइरसको संक्रमण दर तीव्र गतिमा फैलिन थालेपछि दक्षिण कोरियाले नेपाल लगायत अन्य देशबाट समेत श्रमिक लैजान रोक लगाएको हो । दक्षिण कोरियाको श्रम तथा रोजगार मन्त्रालयलाई उद्धृत गर्दै सउलस्थित नेपाली दूतावासले १४ फेब्रअरीका लागि तय भएको नियमित उडान तालिका स्थगित गरिएको जानकारी गराएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया जान ईपीएस पास गरी लामो पर्खाइपछि १४ फेब्रअरीमा उडान तय भई रोकिएका श्रमिकहरुको अर्को उडान तालिका छिट्टै सार्वजनिक गर्न पहल भइरहेको बताए ।
मन्त्री श्रेष्ठले संक्रमण दर कम हुनासाथ रोकिएका कामदारहरुलाई तत्काल पठाउने व्यवस्था गरिने भन्दै केही समय धैर्य गर्न आग्रह गरेका छन् । मन्त्री श्रेष्ठले दक्षिण कोरियामा कोरोना भाइरसले पुनः महामारीको रुप लिएकाले त्यहाँ रहेका नेपालीलाई पनि संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्न आग्रह गरेका छन् ।
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरी रोजगारीका लागि दक्षिण कोरिया जाने पर्खाइमा रहेका नेपाली कामदारहरु लामो समयदेखि रोकिएका थिए । मन्त्री श्रेष्ठको निजी सचिवालयका अनुसार भाषा र सीप परीक्षा उत्तीर्ण गरेकाहरूले तत्काल रोजगारीमा जाने व्यवस्था गरिदिन आग्रह गरेपछि मन्त्री श्रेष्ठले प्रक्रिया शुरु गरी नियमित रुपमा पठाउने व्यवस्था गरिएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-