टोकियो, जापान । जापानले विदेशबाट आइपुगेका यात्रीहरुलाई आगामी महीनादेखि विमानस्थलमा आइपुग्ने बित्तिकै सार्वजनिक यातायातका साधनको प्रयोग गर्ने अनुमति दिने भएको छ ।
विगत दुई वर्षमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले जापानी नागरिक र विदेशी आवासीय बासिन्दाहरु सबैलाई विमानस्थलबाट बाहिरिने क्रममा सार्वजनिक यातायातका साधनको प्रयोग गर्न रोक लगाएको थियो ।
विदेशबाट आउने यात्रीहरुले विमानस्थलबाट बाहिरिँदा सार्वजनिक यातायातका साधनको प्रयोग गर्ने छैन भनेर लिखित प्रतिबद्धतामा हस्ताक्षर नै गर्नु पर्छ ।
सार्वजनिक रेल र बस मात्रै होइन टयाक्सीकै प्रयोगमा पनि रोक लगाइएको थियो । तर बिहिबार सीमा नियन्त्रण खुकुलो बनाउने घोषणापछि प्रधानमन्त्री र मन्त्री परिषद्को वेबसाइटमा एउटा विज्ञप्ति जारी गरिएको छ ।
सो विज्ञप्तिमा विमानस्थलमा आएपछि घर जाँदा सार्वजनिक यातायातको साधन प्रयोग गर्न पाइने उल्लेख गरिएको छ । यद्यपि, सो समय आइपुग्ने बित्तिकै पीसीआर परीक्षण गरेको २४ घन्टाभित्र हुनु पर्नेछ ।
क्वारन्टिन स्थलसम्म जानका लागि आगन्तुकहरुले महँगो निजी कार सेवामा आश्रित हुनु पर्ने अवस्था रहेकोले यो स्वागतयोग्य निर्णय हो ।
यसरी नारिताबाट मध्य टोकियो जाँदा २३ हजार येनसम्म खर्च लाग्थ्यो । सार्वजनिक यातायात प्रयोग सम्बन्धी नियम संसोधन मार्च १ गते मंगलबार देखि मात्रै लागू हुनेछ । सोही दिनदेखि बिहिबार घोषणा गरिएका सीमा नियन्त्रणसम्बन्धी अन्य उपायहरु पनि लागू हुनेछन् ।
प्रतिक्रिया लेख्नुहोस्:-