काठमाडौँ — हिमालय एयरलाईन्सको उडान नम्बर एच ९५६६ मार्फत् दुबईबाट काठमाडौं आएका बंगलादेशी नागरिक मोहम्मत तोफिक उल्लाहलाई प्रहरीले ९ सय ३६ ग्राम अर्धसुनसहित पक्राउ गरेको छ । साथै भन्सार छली गराउने काममा संलग्न रहेको भन्दै भारतीय नागरिक पारसनाथ साह पनि पक्राउ परेका छन् ।
सोमबार त्रिभुवन विमानस्थल आगमन टनेल गेटमा खटिएको प्रहरी टोलीले जाँचका क्रममा मोहम्मतलाई पक्राउ गरेको हो । उनले पाइन्टको कम्मरको भागमा फल्स बटम बनाई ‘मेटल डिटेक्टर’ ले डिटेक्ट गर्न नसक्ने बनाएर पेटी आकारको अर्धठोस सुनको पोका १ थान र भित्री बस्त्रमा लुकाएर बेलना आकारको अर्धठोस सुन २ थान ल्याएको पाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
प्रहरीले ९ सय ३६ ग्राम अर्थात् ७७ लाख १९ हजार ६ सय ६० रुपैयाँको सुन बरामद गरेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए ।
प्रहरीका अनुसार पक्राउ परेका मोहम्मतले भारतीय नागरिक पारसनाथ साहले भन्सार छली गर्न लगाएको बताएका छन्। प्रहरीले भारतीय नागरिक साहलाई समेत प्रक्राउ गरी अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढाएको जनाएको छ । साथै उनीहरूको साथबाट सुन बरामद गरी दुवैलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरनमा बुझाइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-