काठमाडाैं । कोरोना महामारीसँगै सुरु भएको वर्क फ्रम होम ट्रेन्डमा स्ल्याक जस्ता रियल टाइम च्याटले साथीभाइ तथा अफिसियल कामहरुमा कुराकानी, छलफलका लागि धेरै सजिलो बनाइदिएको छ ।
यही कुरालाई ध्यानमा राख्दै गुगलले पनि स्ल्याकको विरुद्धमा आफ्नो दुईवटा कर्पोरेट एप च्याट र रुमलाई जिमेल एपमा मिसाएको छ । गुगल च्याटमा आफ्ना साथीहरुबीचमा वा अन्य समूहमा औपचारिक वा अनौपचारिक रुममा कुराकानी गर्न सकिन्छ ।
योभन्दा अगाडि च्याटमा दुई वा दुईभन्दा बढी व्यक्तिबीच समूहमा कुराकानी गर्न सकिन्थ्यो । तर अब भने रियल टाइममा औपचारिक वा अनौपचारिक दुवै कुराकानी गर्न सकिनेछ ।
उदाहरणका लागि तपाईंलाई सामान्य अनौपचारिक कुराकानी जस्तै साथीहरुसँग कतै घुम्ने योजना अथवा कतै भेट्ने योजना बनाउनुपर्नेछ भने गुगल रुम क्रिएट गरेर कुरा गर्न सक्नुहुनेछ । कुरा सकिएपछि रुम पनि सकिन्छ ।
त्यस्तै गुगल रुम लामो समयका लागि पनि प्रयोग गर्न सकिन्छ । हरेक रुमको छुट्टै नाम हुन्छ । रुममा कुनै पनि बेला जोइन गर्न र छोड्न सकिन्छ । रुमको नोटिफिकेसनहरु आउनेछन् भने यसमा विभिन्न फाइलहरु शेयर पनि गर्न सकिनेछ ।
एउटै रुमभित्र अर्को छुट्टै रुम पनि क्रिएट गर्न सकिनेछ । व्यवसायिक काम तथा व्यक्तिगत दुवै कामको लागि रुम प्रयोग गर्न सकिन्छ । आफूले चाहेको समयावधिसम्म रुम एक्टिभ राखिरहन मिल्छ ।
गुगल च्याटको अर्को विशेषता भनेको यो मोबाइल र ब्राउजरमा छुट्टाछुट्टै एक्टिभेट गर्नुपर्ने हुन्छ ।
गुगल च्याट मोबाइलमा कसरी एक्टिभेट गर्ने ?
- मोबाइलमा जिमेल खोल्ने
- मोबाइल स्क्रिनको देब्रेतिर माथिल्लो पट्टि भएको तिनवटा लाइनमा क्लिक गर्ने, अनि ‘सेटिङस’ मा जाने
- ‘सेटिङ’ मा गएर आफ्नो अकाउन्ट छान्ने र ‘जेनरल’ बटन क्लिक गर्ने
- “सो च्याट एण्ड रुम ट्याब्स” मा क्लिक गर्ने
यो प्रकृया पुरा गरेपछि स्क्रिनको तल्लोपट्टि क्रमश: मेल, च्याट, रुम र मिटको आइकनहरु देख्न सकिन्छ ।
गुगल च्याट ब्राउजरमा कसरी एक्टिभेट गर्ने ?
- जिमेल खोल्ने र दाहिने पट्टिको माथिल्लो भागमा भएको ‘सेटिङ’ मा क्लिक गर्ने
- ‘सि अल सेटिङ’ मा क्लिक गर्ने
- दाहिने पट्टिबाट सुरुमा देखिने “च्याट एण्ड मिट” अप्सनमा क्लिक गर्ने
- त्यहाँ तीन वटा अप्सन देखिनेछ “च्याट” “क्लाशिक ह्याङवाउट” र “अफ” । त्यसमध्ये ‘च्याट’ अप्सनमा क्लिक गर्ने
- ‘सेभ चेन्जेज’ मा क्लिक गर्ने
यो प्रकृया पुरा भएपछि ब्राउजरको देब्रेपट्टि च्याट, रुम र मिटको आइकनहरु देख्न सकिन्छ । नयाँ अपडेटमा पनि ह्याङआउटमा भएका पुराना कुराकानीहरु देख्न सकिनेछ । यसका साथै अन्य साना-साना परिवर्तन पनि देख्न सकिनेछ ।
वेबमा च्याट कसरी सुरु गर्ने ?
नयाँ अपडेट गरिसकेपछि यसलाई सुरु गर्नको लागि च्याट अथवा रुम बक्सको छेउमा भएको प्लस (+) को साइनमा क्लिक गरेर नयाँ च्याट सुरु गर्न सकिन्छ ।
एकजना व्यक्तिसँग मात्र च्याट गर्नको लागि इच्छा लागेको व्यक्तिको नाम टाइप गरेर साेही व्यक्तिसँग मात्र च्याट गर्न सकिनेछ । यदि एकभन्दा बढी व्यक्तिसँग च्याट गर्ने हो भने च्याट बक्सको ‘प्लस’ साइनमा क्लिक गरेर “स्टार्ट ग्रुप कन्भरशेसन” गरेर आफूले चाहेका व्यक्तिलाई एड गरेर कुराकानी सुरु गर्न सकिनेछ।
सोही मेनुमा क्लिक गरेर आफ्नो रुम पनि क्रिएट गर्न, क्रिएट भइसकेको रुममा जोइन गर्न र मेसेज रिक्वेस्टहरु हेर्न पनि सकिन्छ ।
मोबाइल एपमा च्याट कसरी सुरु गर्ने ?
मोबाइलमा जिमेल एप खोलेर स्क्रिनको तल्लोपट्टि भएको च्याटमा क्लिक गरेपछि दाहिनेतिर “न्यू च्याट” भनेर एउटा आइकन देखिन्छ । न्यू च्याटमा क्लिक गरेपछि आफूले चाहेको व्यक्तिको नाम टाइप गरेर च्याट सुरु गर्न सकिन्छ भने साेही आइकनमा क्रिएट रुम, ब्राउज रुम र मेसेज रिक्वेस्टको अप्सनहरु पनि देख्न सकिन्छ ।
रुम कल अथवा च्याट गर्नको लागि क्रिएट रुममा क्लिक गर्ने । त्यसपछि रुमको नाम राख्ने र आफूले चाहेको व्यक्तिहरुलाई जाेडेर रुम सुरु गर्न सकिन्छ । तपाईंले इन्भाइट गर्नुभएको व्यक्तिको मेलमा इन्भिटेशन लिंक जान्छ, जसमा क्लिक गरेर उक्त व्यक्तिले रुम जाेइन गर्न सक्नेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-