काठमाडौं। वाशिङटन पोस्टका पत्रकार जमाल खशोग्गीको हत्या गर्ने ४ जना साउदी अरेबियाका एजेन्टहरुलाई अमेरिकाले सैन्य प्रशिक्षण दिएको थियो । यो प्रशिक्षणलाई अमेरिकाको विदेश मन्त्रालयले नै स्वीकृति दिएको थियो । अमेरिकी अखबार न्यूयोर्क टाइम्सले दस्तावेजहरु र यो घटनासँग सम्बन्धित व्यक्तिहरुमार्फत यसको पुष्टि गरेको छ ।
साउदीको यो विशेष युनिटलाई साउदी राजकुमार मोहम्मद बिन सलमानको आदेशमा तयार गरिएको थियो र सुरुमा यो युनिट देशभित्र राजकुमारविरोधी गतिविधिलाई दबाउन प्रयोग गर्ने भनिएको थियो । राजकुमार सलमानको यो गोप्य सैन्य दस्तालाई अमेरिकाको अरकंसासस्थित सुरक्षा कम्पनी टियर वन ग्रुपले प्रशिक्षण दिएको थियो । यो कम्पनीको मालिक निजी कम्पनी सेरबेरस क्यापिटल म्यानेजमेन्ट थियो ।
कम्पनीका अनुसार यो प्रशिक्षणमा सुरक्षित निशानेबाजी र आक्रमणको जवाफ दिन प्रशिक्षित गरिएको थियो । कम्पनीले यो प्रशिक्षण आफैंमा रक्षात्मक रहेको र यसको उद्देश्य साउदी नेताहरुलाई राम्रो सुरक्षा दिनु भएको बताएको छ । यो पूरै प्रशिक्षणसँग सम्बन्धित एक व्यक्तिका अनुसार साउदीको गोप्य दस्तालाई निगरानी गर्ने र आमने–सामनेको युद्ध लड्ने तरिका पनि सिकाइएको थियो ।
अहिलेसम्म यो प्रशिक्षणको स्वीकृति दिने अमेरिकी अधिकारीहरुलाई यो दस्ताको प्रयोग साउदी अरेबियामा असन्तोषलाई दबाउन प्रयोग गरिनेछ भन्ने थाहा थियो वा थिएन भन्ने कुराको प्रमाण भेटिएको छैन । यो खुलासाले खशोग्गीका हत्याराहरु अमेरिकासँग कतिसम्म जोडिएका थिए र प्रशिक्षण लिएका थिए भन्ने प्रस्ट भएको छ । यसबाट साउदी अरबको तानाशाहीमा अमेरिकाको कति भागीदारी छ र अमेरिकाले पनि त्यसको निगरानी समेत गर्दैन भन्ने पनि खुलासा भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-