काठमाडौं। अमेरिकाको लस एन्जल्समा उड्नको लागि रनवेमा दौडिरहेको विमानभित्र भएका एक यात्रुले विमानको इमरजेन्सी ढोका खोलेर बाहिर हाम्फालेका छन् । अधिकारीहरुका अनुसार लस एन्जल्स अन्तर्राष्ट्रिय विमानबाट शुक्रबार राती उड्न लागेको स्काइवेस्ट एयरलायन्सको विमानबाट ती यात्रुले रनवेमा हाम्फालेका थिए । उनलाई अस्पताल भर्ना गरिएको छ ।
एबीसी सेभेनका अनुसार स्काइवेस्टले सञ्चालन गरिरहेको युनाइटेड एक्सप्रेसको उडान नम्बर ५३६५ को उक्त विमान लस एन्जल्सबाट बेलुकी स्थानीय समयअनुसार ७ बजे उडेर साल्ट लेक सिटी जान लागेको थियो । इम्ब्रायर १७५ विमान उडान भर्नको लागि विमानस्थलमा गुडेर रनवेमा जाँदै थियो । ‘यही बेला ती यात्रुले अकस्मात आकस्मिक ढोका खोलेर बाहिर हाम्फाले’ लस एन्जल्स पुलिसले एक वक्तव्यमा भनेको छ ।
संघीय जाँच ब्यूरो एफबीआइका अनुसार ती यात्रु इमरजेन्सी ढोकाबाट बाहिर हाम्फाल्नुभन्दा पहिले जोडले ककपिटको ढोकामा ठोक्किएका थिए । ती यात्रुलाई कति चोट लागेको छ भन्ने खुलाइएको छैन र उनको पहिचान पनि खुलाइएको छैन । पुलिसका अनुसार हाम्फाल्ने यात्रुबाहेक अरु कुनै यात्रु र विमानलाई पनि कुनै नोक्सानी भएको छैन । पाइलटले ककपिटबाट एयर ट्राफिक कन्ट्रोललाई सम्पर्क गरेर घटनाबारे बताएको एक अडियो क्लिपमा सुनिन्छ ।-डिसी नेपाल
प्रतिक्रिया लेख्नुहोस्:-