अस्ट्रेलियाका विभिन्न भागहरुमा महिनौँयता पहिलो पटक कोरोना भाइरस संक्रमण देखिएको छ । कोरोना भाइरसको अत्यन्तै संक्रामक डेल्टा भेरियन्टसँग जोडिएको कोभिड प्रकोपकाबीच सिड्नीमा संक्रमितहरूको संख्या १२८ पुगेको छ। अस्ट्रेलियाका अन्य भागहरूमा संक्रमण पुष्टि हुने क्रम पनि जारी छ। उत्तरी क्षेत्र, क्वीन्सल्याण्ड र पश्चिमी अस्ट्रेलियामा सानो स्तरमा प्रकोप देखा परेको छ।
सङ्घीय र राज्य सरकारहरूले सोमवार पछिल्लो अवस्थाबारे आपत्कालीन छलफल गर्ने छन्। विभिन्न राज्यहरूले संक्रमण फैलिन नपाओस् भनेर नयाँ प्रतिबन्धात्मक व्यवस्था लागु गरेको र आफ्नो नाकासमेत बन्द राखेका बेला अर्थमन्त्री जस फ्राइडनबर्गले यो राष्ट्रका लागि ’निकै महत्त्वपूर्ण समय रहेको बताएका छन्। ‘मलाइ लाग्छ की बढी सङ्क्रामक डेल्टा भेरियन्टसँगै हामी महामारीको अर्को चरणमा प्रवेश गर्दैछौँ,’ फ्राइडनबर्गले सोमवार एबीसी न्यूजसँग भने।
कोभिड संक्रमणको बढ्दो घटनाहरूका कारण सिड्नीका विभिन्न सहरहरूमा लकडाउन लागु गरिएको छ। झन्डै ५० लाख मानिसहरू बसोबास गर्ने सिड्नीको अवस्था चिन्ताको विषय बनेको छ।
महामारीभरी कडा प्रतिबन्धात्मक व्यवस्था, क्वारन्टीन, तीव्र गतिमा परीक्षण अनि कनट्याक्ट ट्रेसिङ र सीमा बन्द गर्ने लगायतका नीतिका कारण अस्ट्रेलियामा कोरोनाभाइरस संक्र्रमितको दर निकै कम छ।
यो वर्ष त्यहाँ कोरोनाभाइरसका कारण कसैको पनि मृत्यु भएको छैन। हालसम्म अस्ट्रेलियामा कोभिडसम्बन्धी रोगका कारण ९१० जनाको मृत्यु भएको छ भने संक्रमितहरूको कुल संख्या ३० हजार ४ सय ५० छ।-अन्नपूर्ण
प्रतिक्रिया लेख्नुहोस्:-