काठमाडौं। चर्चित बलिउड अभिनेत्री मन्दिरा बेदीका पति राज कौशलको निधन भएको छ । राजको ४९ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको हो । मन्दिरा र राजका २ सन्तान छन् । सामाजिक संजालमा सेलिब्रेटीहरुले राजको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
राज कौशल निर्माता तथा निर्देशक थिए । राज कौशलले एन्थोनी कौन है, शादी का लड्डु, प्यार में कभी कभी जस्ता फिल्म निर्देशन गरेका थिए । माइ ब्रदर निखिल, शादी का लड्डु, प्यार में कभी कभी जस्ता फिल्मका उनी निर्माता पनि थिए ।
निर्देशक ओनिरले राजको निधनको पुष्टि गरेका छन् । उनले ट्वीट गर्दै लेखेका छन् ‘धेरै छिटो गयौ । हामीले फिल्म निर्माता तथा निर्देशक राज कौशललाई आज बिहान गुमाएका छौं । बेरै दुखद । उनी मेरो पहिलो फिल्म माइ ब्रदर निखिलका निर्माता थिए । ती मानिसहरुमध्ये एक थिए जसले हाम्रो लक्ष्यमा विश्वास गरे र हामीलाई सहयोग गरे । भगवानले उनको आत्मालाई शान्ति दिउन् ।’
मन्दिरा बेदी र राज कौशलको विवाह फेब्रुअरी १९९९ मा भएको थियो । १० जून २०११ मा मन्दिराले छोरा वीरलाई जन्म दिएकी थिइन् । गत वर्ष २०२० मा मन्दिरा र राजले ४ वर्षकी एक बालिकालाई छोरीको रुपमा अभिभावकत्व ग्रहण गरेका थिए । छोरीको नाम तारा बेदी कौशल हो ।-डिसी नेपाल
प्रतिक्रिया लेख्नुहोस्:-