काठमाडौं । सामसङले नेपाली बजारमा आफ्ना तीन नयाँ उत्पादन सार्वजनिक गर्ने भएको छ । अबको एकसाता भित्र सुलभ मूल्यमा आकर्षक फिचरको अनुभव लिन सकिने सामसङ ग्यालेक्सी एम ३२, ए २२ स्मार्टफाेन र ग्यालेक्सी ट्याब ए ७ लाइट नेपाली बजारमा सार्वजनिक हुने भएका हुन् ।
‘हाम्रा ग्राहकहरूका लागि सुलभ मूल्यमा राम्रो फिचर भएको मोबाइल फोनको मागलाई मध्यनजर गर्दै हामीले यी नयाँ प्रडक्ट नेपाली बजारका लागि तयार गरेका हौं,’ सामसङका प्रबन्ध निर्देशक सङजुन पार्कले बताए ।
३० हजार रुपैयाँभन्दा कम मूल्यमा सार्वजनिक हुन लागेको ग्यालेक्सी एम ३२ प्रयोगकर्ताका लागि निकै उपयोगी हुने उनको दाबी छ । एन्ड्राेइड ११ मा चल्ने यो फाेनमा ९० हर्जकाे रिफ्रेश रेटसहित ६.४ इन्चको फुल एचडी रेजोलुसनयुक्त एमोलेड डिस्प्ले रहेको छ ।
दैनिक प्रयोगका लागि यो फोन एकदमै उपयोगी रहेको कम्पनीको दाबी छ । यो फोन निलो, कालो र हरियो रङ्गमा उपलब्ध हुने छ । एन्ड्रोइडको ११ औं पुस्ताको यो फोनलाई दुई आगामी पुस्तासम्मको अपग्रेड प्राप्त हुनेछ ।
यसको अर्थ यो फोनमा एन्ड्रोइड १३ र १४ को समेत अडेट आउनेछ । यससँगै सामसङले ए सिरिजको अर्को मोबाइल ग्यालेक्सी ए २२ पनि नेपाली बजारमा ल्याउँदैछ ।
५ हजार एमएएच क्षमताको ब्याट्री पावर भएको यो फोन पनि ६ जीबी र्याम तथा १२८ जीबी स्टोरेज र ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ । डुअल सिम सपोर्ट रहेको फोनमा माइक्रो एसडी कार्डमार्फत स्टोरेज क्षमतालाई एक टेराबाइटसम्म विस्तार गर्न मिल्छ ।
यसैगरी सामसङले अर्को नयाँ प्रडक्ट ग्यालेक्सी ट्याब ए ७ लाइट पनि नेपाली बजारमा ल्याउँदैछ । विशेषगरी विद्यार्थीका लागि उपयोगी हुने भनिएको यो ट्याबको मूल्य २० हजार रुपैयाँदेखि सुरु हुने जनाइएको छ ।
यो ट्याब्लेट ३ जीबी र्याम तथा ३२ जीबी स्टोरेज र ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज भेरयन्ट सहित उपलब्ध हुनेछ । अब आउने दिनमा पनि फोरजी र फाइभजीका उत्पादनहरू पाइपलाइनमा रहेको प्रबन्ध निर्देशक पार्कले जानकारी दिए । -टेकपाना
प्रतिक्रिया लेख्नुहोस्:-