बीबीसी । यसै हप्ता उच्च तापक्रमको रेकर्ड बनाएको क्यानडाको लाइटनमा वन डढेलोले ९० प्रतिशतभन्दा धेरै भूभाग जलाएको स्थानीय सांसद ब्राड भिसले बताएका छन् । भिसका अनुसार डढेलोले ब्रिटिस कोलम्बिया प्रान्त र आसपास क्षेत्रका महत्वपूर्ण संरचनाहरुमा ठूलो क्षति पुर्याएको छ ।
लाइटनका मेयर जेन पोल्डरमनले बीबीसीसँग कुरा गर्दै ‘भाग्यवश् आफ्नो ज्यान जोगाएको’ बताएका छन् । उनले भने, “अब लाइटनमा केही बाँकी रहने अवस्था छैन । जताजतै आगो मात्र छ ।”
१५ मिनेटमै जंगलबाट आगो मानव बस्तीमा फैलिएपछि उनले सबै वासिन्दालाई सो क्षेत्र खाली गर्न निर्देशन दिएका थिए । यसै हप्ता त्यहाँ अहिलेसम्मकै उच्च तापक्रम ४९.६ डिग्री मापन गरिएको थियो ।
सोही किसिमको असाधारण गर्मीको लहर उत्तर अमेरिकामा पनि देखा परिरहेको छ ।
पश्चिम क्यानडास्थित ब्रिटिस कोलम्बियामा गर्मीकै कारण पछिल्लो पाँच दिनमा सम्भावित ४८६ भन्दा धेरैको मृत्यु भएको घटनाबारे रिपोर्ट गरिएको छ । यी सबै घटनाका लागि चिफ कोरोनेर लिसा लोपोइन्टले जटिल मौसमलाई जिम्मेवार ठहर्याएकी छन् ।
अहिले क्यानडाका कोस्टल क्षेत्रहरुमा तापक्रम केही सहज बन्दै गएको छ । तर, भित्रीतर्फ अवस्था अझै सुध्रिएको छैन । यो चरम मौसम यति बेला पूर्वतर्फ फैलिरहेको बताइएको छ ।
यस्तोमा बुधबार डढेलोको धुवाँ र आगो घरैसम्म आइपुगेपछि त्यहाँका वासिन्दाहरु आफ्ना केही सरसामान नलिई भागेका छन् । मेयर पोल्डरमनले भने, “केवल १५ मिनेटमै पूरै सहर आगोले जलिरहेको थियो । मान्छेहरु आत्तिदै केवल आफ्ना घरपालुवा जीवजन्तु बोकेर गाडी चढी भागेका हुन् ।”
७१ किलोमिटर प्रतिघण्टा रफ्तारमा चलिरहेको हावाले बुधबार बेलुकी आगोलाई थप उत्तरतर्फ सामुदायसम्म पुर्याएको हो । तातो र सुक्खा मौसम अनि हावा चलिरहनाले आगो छिटै फैलिएको बताइएको छ ।
२२ वर्षीया छोरीलाई लिएर घर छाड्न बाध्य बनेकी एक वासिन्दाले बीबीसीसँग भावुक हुँदै भनिन्, “म रोइरहेकी थिएँ । छोरी पनि धेरै रोइन् । अहिले मलाई आफूले किन चाबी बोकेर हिँडेको होलाजस्तो भइरहेको छ । किनकि, अब त्यहाँ हाम्रो घरै नहुन पनि सक्छ । हाम्रो घरलाई केही नहोस् भनेर म केवल प्रार्थना मात्र गर्न सक्छु ।”-१२ खरी
प्रतिक्रिया लेख्नुहोस्:-