टोकियो: जापानमा केही दिनदेखिको भारी वर्षाका कारण पहिरो जाँदा दुईजनाको मृत्यु भएको छ । २० जना हराइरहेका छन् ।
राजधानी टोकियोको दक्षिणपश्चिम क्षेत्रस्थित अतामीमा रहेको एक रिसोर्ट पहिरोले गर्दा भत्किएको हो। यस घटनाको छोटो भिडियो स्थानीय टेलिभिजनले समेत देखाएका छन् ।
प्रधानमन्त्री योशिहिदे सुगाले आपतकालीन सेवा साथै घटनास्थलमा सैनिकलाई खटाइएको बताए । साथै अझै पानी पर्नसक्ने चेतावनी पनि उनले दिएका छन् । सुरक्षाकर्मीले पहिरोमा वेपत्ता भएकाहरुको खोजी गरिरहेका छन् ।
“अझै भारी वर्षाको सम्भावना छ । यसैले हामी अझै अधिकतम स्तरमा सतर्क रहनुपर्छ,” प्रधानमन्त्री सुगाले बताए । अतामी क्षेत्रमा पछिल्लो ४८ घण्टामा ३१३ मिलिमिटर पानी परेको बताइएको छ । जुन हरेक जुलाइमा पर्ने औसत पानीको मात्रा भन्दा धेरै हो । जापानको पश्चिमी क्षेत्रमा २०१८ मा बाढीका कारण २०० जनाको ज्यान गएको थियो ।-अन्नपूर्ण
प्रतिक्रिया लेख्नुहोस्:-