सामसङले आफ्नो ग्यालेक्सी सिरिजको नयाँ स्मार्टफोनहरु अब चाडैँ सार्वजनिक गर्ने भएको छ।
जीएसएम अरिनाका अनुसार सामसङले ग्यालेक्सी जेड सिरिजका दुई नयाँ स्मार्टफोन अर्को महिना सार्वजनिक गर्ने भएको हो। यो ग्यालेक्सी जेड सिरिज अन्तर्गत कम्पनीले नयाँ ‘ग्यालेक्सी जेड फोल्ड–३’ र ‘ग्यालेक्सी जेड फिल्प–३’ ल्याउन लागेको हो।
केही दिन अघिसम्म यी दुई नयाँ स्मार्टफोन अगस्ट ३ मा सार्वजनिक हुने हल्ला थियो। तर, कम्पनीले हालै ‘ग्यालेक्सी जेड फोल्ड–३’ र ‘ग्यालेक्सी जेड फिल्प–३’ अगस्ट ११ मा आउने बताएको छ।
‘ग्यालेक्सी जेड फोल्ड–३’ र ‘ग्यालेक्सी जेड फिल्प–३’ फोल्डएबल फोन हो। ‘ग्यालेक्सी जेड फोल्ड–३’मा तीनवटा क्यामरा हुनेछ। यो स्मार्टफोन क्वालकम स्न्यापड्रैगन ८८८ फ्ल्यागसिप चिपसेट प्रोसेसरबाट बनेको छ।
‘ग्यालेक्सी जेड फोल्ड–३’मा चार हजार दुई २७ एमएएचको ब्याट्री पावर हुनेछ। यसको अगाडिपट्टि अन्डर–डिस्प्ले फ्रन्ट क्यामरा हुने अपेक्षा गरिएको जीएसएम अरिनाले जनाएको छ।
यसैगरी ‘ग्यालेक्सी जेड फिल्प–३’ पनि अघिल्लो फोन ‘ग्यालेक्सी जेड फिल्प–३’को भन्दा नयाँ डिजाइनका साथ आउने अनुमान छ।
यो फोल्डएबल स्मार्टफोनमा दुईवटा क्यामरा हुनेछ, जुन फोनको पछाडिपट्टि ठाडो डिजाइनमा राखिने छ।
‘ग्यालेक्सी जेड फिल्प–३’का फिचरबारे धेरै जानकारी लिक नभएको कारण प्रयोगकर्ताले फोनको सार्वजनिक मिति प्रतिक्षा गर्नुपर्ने द इन्डियन एक्सप्रेसले बताएको छ।
केही अनुमानहरुका अनुसार यो फोन कालो, सेतो, बैजनी र हरियो रङमा उपलब्ध हुनेछ।
प्रतिक्रिया लेख्नुहोस्:-