काठमाडौं, कोरोना महामारीका कारण नेपाल चलचित्र संघका महासचिव अशोक शर्माका अनुसार, हालसम्म २२ वटा सिनेमा हल सधैंका लागि बन्द भइसकेका छन् भने ३०र४० वटा सिनेमा हल पनि बन्द हुने अवस्थामा छन् ।
मोफसलसँगै राजधानीभित्र पनि एकपछि अर्को सिनेमा हल सधैंका लागि बन्द हुन थालेका छन् । क्यूएफएक्स चेनको जय नेपाल हल लकडाउनपछि नै बन्द भएको थियो । यो हलबाट निर्मातालाई राम्रो शेयर पाउने गरेका थिए । कोरोनाका कारण खर्च धान्न नसक्ने भएपछि क्यूएफएक्स चेनको कमलपोखरीमा रहेको दुई अडिटोरियमको कुमारी हल पनि सधैंका लागि बन्द भएको छ ।
शनिवारदेखि हलभित्र रहेका सबै सामानहरु हटाउन थालिएको छ । अब हल भएको भवन अन्य प्रयोजनका लागि प्रयोग गरिनेछ । ३७ वर्षको इतिहास बोकेको सिनेमा हल बन्द गर्नुको कारणबारे क्यूएफएक्सका सिइओ रोशन अडिगा भन्छन्, ‘कोरोना महामारीभन्दा अगाडि हल बन्द गर्ने विषयमा सोचेका थिएनौं । तर, कोभिडपछि खर्च धान्न नसक्ने भएपछि हल बन्द गर्न बाध्य भएका हौं ।’
नेपालमा फिल्म प्रदर्शनको एउटा गर्विलो इतिहास बोकेको कुमारी हलमा पहिलो पटक ‘जय सन्तोषी माता’ फिल्म प्रदर्शन भएको थियो । २०६२ सालमा क्यूएफएक्सले सञ्चालनको स्वामित्व लिएको यो हलबाट नेपाली निर्माताले ठूलो मात्रामा शेयर पाउने गरेका थिए । फिल्मको च्यारिटी, प्रिमियर, प्रेस मिट, फिल्म महोत्सव लगायतका लागि कुमारी हल अत्याधिक प्रयोग हुने गरेको थियो ।
जयनेपाल र कुमारी हल सधैंका लागि बन्द भए पनि क्यूएफएक्सले वीरगञ्ज र दमौलीमा थप दुई नयाँ सिनेमा हल खोलेको छ । कोरोना महामारी सामान्य भएर फिल्म प्रदर्शन हुन थालेपछि दुवै ठाउँका सिनेमा हल सञ्चालनमा आउने सिइओ अडिगाले बताए । योसहित क्यूएफएक्सको आउटलेट संख्या १२ पुगेको छ । –आजको अर्थ
प्रतिक्रिया लेख्नुहोस्:-