काठमाडौं। बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा पोर्न फिल्म बनाएको र अनलाइन एपमार्फत सार्वजनिक गरेको अभियोगमा पक्राउ परेका छन् । लगत्तै पूनम पाण्डेले राज कुन्द्राले आफ्नो शोषण गरेकोबारे विस्तारमा बताएकी छिन् । पूनमले २ वर्षअघि २०१९ मै राज कुन्द्रा र उनका सहयोगीहरुविरुद्ध पुलिसमा उजुरी दिएकी थिइन् ।
पुनमका अनुसार त्यतिबेला राज कुन्द्राले जबरजस्ती उनलाई सम्झौतामा सही गराएका थिए । पूनमका अनुसार उनलाई सम्झौता रद्द गर्ने अनुमति थिएन । राज कुन्द्राले पूनमको यतिसम्म शोषण गरेका थिए कि उनको निजी मोवाइल नम्बर समेत अनलाइनमा शेयर गरिदिएका थिए । ‘तपाइँलाई खुसी पार्न तयार छु फोन गर्नुस्’ भन्ने आशयको सन्देशसहित उनको नम्बर राज कुन्द्राले अनलाइनमा लिक गरिदिएको उनले बताइन् ।
एक अन्तरवार्तामा पूनमले भनेकी छिन् ‘मलाई धम्की दिइयो र एउटा सम्झौता साइन गर्न बाध्य पारियो । यो सम्झौतामा लेखिएको थियो मैले उनको इच्छाअनुसार निश्चित तरिकाले सुट गर्नुपर्ने, पोज दिनुपर्ने र देखिनुपर्ने थियो । यसो नगरे उनले मेरा सबै निजी कुराहरु लिक गरिदिने सम्झौतामा उल्लेख थियो । जब मैले साइन गर्न मानिन र सम्झौता रद्द गर्ने निर्णय गरें त्यसपछि उनले ‘मलाई अहिले फोन गर्नुस्, म तपाइँको लागि स्ट्रिप गर्छु’ जस्ता सन्देशको साथमा मेरो व्यक्तिगत मोवाइल नम्बर लिक गरिदिए ।’
‘द जर्नी अफ कर्मा’ र ‘आ गया हिरो’ जस्ता फिल्ममा काम गरिसकेकी पुनमका अनुसार राज कुन्द्राको फर्ममा शेयरका विषयमा भेदभाव भइरहेको थियो जसका कारण उनले सम्झौता रद्द गरेकी थिइन् । तर यसको तत्कालै पछि उनको निजी नम्बरमा कैयौं किसिमका अनुरोधसहित फोन आउन थाले । उनका अनुसार यो सबबाट हैरान भएपछि उनले ३ महिनाको लागि देश छाडेकी थिइन् । तर, फर्केर आएपछि पुनः यही सब झेल्नुपर्यो । हैरान भएर उनले आफ्नो नम्बर बदलेकी थिइन् । –डिसी नेपाल बाट
यो पनि पढ्नु होस्
प्रतिक्रिया लेख्नुहोस्:-