काठमाडौं। लेबनानतर्फबाट इजरायलमा ठूलो संख्यामा रकेट प्रहार गरिएका छन् । लेबनानको विद्रोही समूह हिजबुल्लाहले इजरायलतर्फ रकेट प्रहार गरेको हो । इरान समर्थित यो लडाकु समूहले गोलन हाइट्सको उत्तरमा विवादित शेबा फार्मस क्षेत्रमा इजरायली पोजिसनमा रकेट प्रहार गरेको जनाएको छ ।
आक्रमणलगत्तै इजरायली सेनाले पनि जवाफी आक्रमण गरेको थियो । इजरायल र लेबनानको हिजबुल्लाह समुहबीच क्रस बोर्डर द्वन्द्व जारी रहेको यो तेस्रो दिन हो । यसअघि २००६ मा इजरायल र हिजबुल्लाहबीच १ महिना लामो युद्ध भएको थियो । संयुक्त राष्ट्रसंघले यस क्षेत्रमा कुनै किसिमको उक्साहट निके खतरनाक हुन सक्ने चेतावनी दिएको छ ।
प्रहार गरिएका अधिकांश रकेटहरुलाई इजरायलको आइरन डोम प्रणालीले हावामै नष्ट गरेको छ । बाँकी रहेटहरु खुल्ला ठाउँमा खसेका थिए । क्षति वा मृत्युको कुनै विवरण दिइएको छैन । माथिल्लो ग्यालिली र गोलन हाइट्स क्षेत्रमा रकेट आक्रमणसँगै चेतावनी साइरन गुञ्जिएका थिए । यो क्षेत्र इजरायलले १९६७ को मध्यपूर्व युद्धमा कब्जा गरेको थियो ।
लेबनानका सुरक्षा अधिकारकिा अनुसार रकेट लेबनानको शेबा सहरनजिकै अल अरकूबबाट प्रहार गरिएका थिए । इजरायलले यसअघि आफ्नो देशमा रकेट आक्रमण भएपछि लेबनानको केही क्षेत्रमा एयरस्ट्राइक गरेको थियो । यसैको जवाफमा हिजबुल्लाहले रकेट आक्रमण गरेको हो । यसअघि इजरायलमा गरिएको रकेट आक्रमणको जिम्मेवारी कसैले लिएको थिएन । यो समाचार डिसी नेपालमा प्रकाशित छ ।
प्रतिक्रिया लेख्नुहोस्:-