काठमाडौं, साउन ३० गते । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी भित्रको गलत प्रबृत्तिविरुद्ध नझुकी निरन्तर संघर्ष जारी राख्ने बताउनुभएको छ । शनिबार यहाँ आयोजित ‘कम्युनिष्ट आन्दोलनमा अवसरवाद’ नामक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
नेता नेपालले दक्षिणपन्थी अवसरवाद र उग्रबामपन्थ भड्काउबाट जोगिदै अघि बढ्ने आजको आवश्यकता रहेको बताउँदै आफूहरुका लागि मैदान खाली रहेको पनि चर्चा गर्नुभयो । पार्टीभित्र अहंकार र अवसरवाद हावी भएकै कारण आन्तरिक समस्या निम्तिएको उहाँले टिप्पणी गर्नुभयो ।
एमाले पार्टी एकता र आन्तरिक समस्या समाधानको पहल भएपनि अपमान सहेर आफू एकता नगर्ने नेता नेपालले बताउनुभयो । समान हैसियतमा पार्टी एकता भएमात्र आफूलाई सह्य हुने भन्नुहुँदै नेता नेपालले भन्नुभयो, “नेता बामदेव गौतमकोजस्तो अपमान सहेर पार्टीभित्र घर न घाटको भएर बसिन्न ।” अन्तिम समयसम्म आफू पार्टी एकताको पक्षमा रहने तर अवस्था अनुकुल नभए अलग बाटो हिड्ने पनि उहाँले प्रष्ट पार्नुभयो ।
यसअघिको निर्वाचनमा जनताले एमालेलाई बहुमत दिएपनि एमालेले जनविश्वास कायम राख्न असफल भएको पनि उहाँले बताउनुभयो । असहज बाटो हिड्ने आफूलाई रहर नभए पनि माग सुनुवाई नभए त्यो बाटो हिड्न बाध्य हुने उहाँले चेतावनी दिनुभयो । गलत प्रबृत्तिसँग कहिल्यै सम्झौता नगर्ने र पिठ्यूँ फर्काएर नभाग्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया लेख्नुहोस्:-