मुम्बई : अनुष्का सेन भर्खर १८ वर्षकी भइन्। सानै उमेरमा पनि उनको स्टारडम भने चर्चित बलिउड अभिनेत्रीको भन्दा कम छैन। भारतीय टेलिभिजनकी सबैभन्दा महँगो कलाकार उनी पछिल्लो समय निकै चर्चा बटुलिरहेकी छन्। उनले थुप्रै बाल कार्यक्रमहरूमा पनि काम गरेकी छन्। विशेष गरी ‘बाल वीर’, ‘झाँसी की रानी’, ‘खुब लडी मर्दानी’ लगायतका टेलिचलचित्र कार्यक्रमबाट उनले चर्चा बटुलेकी थिइन्।
अनुष्का अहिले रोहित सेट्टीको स्टन्ट बेस्ड रियालिटी सो ‘केकेके–११’मा काम गरिरहेकी छन्। यस कार्यक्रममा उनले गरेको स्टन्टलाई धेरैले रुचाएका छन्। कम उमेरमा स्टन्ट कार्यक्रममा सहभागी भएकी उनले पाँच लाख पारिश्रमिक लिएको बुझिएको छ। उनले यसअघि खत्ररों के खिलाडीमा पनि काम गरेकी थिइन्। उनको वार्षिक आम्दानी १४ करोड रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
राम्रो कमाइ गर्दै आएकी अनुष्का निकै लक्जरी जीवन पनि बिताउँदै आएकी छन्। उनले गत वर्ष स्पोर्ट्स कार किनेकी थिइन्। अनुष्काको आफ्नै युट्युब च्यानल पनि छ। त्यो च्यानलबाट उनले लाखौं रुपैयाँ कमाइरहेकी छन्। टेलिभिजन सो र चलचित्रका साथै अनुष्का विभिन्न विज्ञापनहरूमा पनि काम गर्दै आएकी छन्। उनले भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीसँग पनि थुप्रै विज्ञापनमा काम गरिसकेकी छन्।
अनुष्काले सन् २००९ मा रंगीन पर्दामा डेब्यु गरेकी हुन्। ‘यहाँ मे घरघर खेली’बाट उनले टेलिभिजन पर्दामा डेब्यु गरेकी हुन्। यसपछि उनले थुप्रै टेलिभिजन कार्यक्रममा काम गरिन्। उनले कयौं टेलिभिजनसँगै केही चलचित्रमा पनि काम गरेकी छन्। उनले सन् २०१९ मा ‘लिहाफ : किल्ट’बाट बलिउडमा डेब्यु गरेकी थिइन्। त्यसपछि उनले ‘क्रेजी चुक्कड फेमिली’मा काम गरेकी छन्। अनुष्काले थुप्रै वेव सिरिजमा पनि काम गरेकी छन्।
प्रतिक्रिया लेख्नुहोस्:-