मुम्बई– भारतको सबैभन्दा लोकप्रिय गायनमा आधारित रियालिटी शोमध्येको एक इन्डियन आइडलको १२ औं संस्करणको उपाधि पवनदीप राजनले जितेका छन् ।
प्रतियोगिताको फिनालेमा पवनदीपसंगै मोहम्मद दानिश, शनमुखाप्रिया, अरुणिता कांजीलाल, निहाल तथा सायली काम्बले पुग्न सफल भएका थिए । आईतबार राति सम्पन्न भएको लामो समयदेखि सञ्चालन भैरहेको यो प्रतियोगिता निकै उतार–चढावहुँदै सम्पन्न भएको हो । विजेता पवनदिपले इन्डियन आइडलको उपाधिसंगै पुरस्कारमा एउटा लग्जरी कार तथा २५ लाख भारुसमेत जितेका छन् ।
प्रतियोगिताको दोस्रो स्थानमा उपाधिकै प्रवल दावेदार अरुणिता कांजीलाल रहन सफल भइन् भने तेस्रो स्थानमा सायली काम्बले रहिन् । चौथो स्थानमा मोहम्मद दानिश रहे भने पाँचौं स्थानमा निहाल रहे । त्यस्तै शनमुखा प्रियाले सबैभन्दा कम भोट पाउँदै छैठौं स्थानमा सिमित भइन् । यसपटकको प्रतियोगिताको फिनालेको दौडमा आफ्नो स्थान सुरक्षित गर्नका लागि प्रतियोगिहरुले निकै संघर्ष गर्नु पर्यो ।
इन्डियन आइडलको फिनालेमा यसपटक छ जना प्रतियोगिहरुलाई समावेश गरिएको थियो, जबकि यसअघि फिनालेमा पाँच जनामात्र पुग्दथे । इन्डियन आइडल १२ का विभिन्न प्रतियोगिहरुले बलिउडबाट समेत प्रस्ताव पाइसकेका छन् । प्रतियोगि अरुणिता कांजीवाललाई करण जौहरले गायनको प्रस्ताव दिएका छन् भने हिमेश रेशमियाले पनि विभिन्न प्रतियोगिहरुलाई आफ्नो एल्बमको गीत गाउन दिएका छन् ।
यसअघि बलिउडका संगीतकार बप्पी लहिरीले कार्यक्रममा सहभागिता जनाउने क्रममा आफ्नो सबैभन्दा पुरानो तथा प्यारो तबला पवनदीप राजनलाई उनको प्रतिभाबाट प्रभावित भएर उपहारस्वरुप प्रदान गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-