मलेसियाका राजाले शुक्रवार इस्माइल साबरी याकोबलाई देशको नयाँ प्रधानमन्त्री बनाएका छन् ।
याकोब युनाइटेड मलेज नेसनल अर्गनाइजेसनका नेता हुन् । उक्त दलले लामो समय मलेसियामा शासन चलाएको थियो तर सन् २०१८ मा भएको निर्वाचनमा पराजय बेहोरेको थियो ।
इस्माइल मुहिद्दीन यासिन सरकारमा उपप्रधानमन्त्री थिए । यासिनले बहुमत सांसदको मत गुमाएपछि सोमवार राजीनामा दिएका थिए ।
इस्माइल प्रधानमन्त्री बन्दा मुहिद्दीनकै गठबन्धन सत्तामा पुनर्बहाली भएको छ ।
राजा सुल्तान अब्दुल्ला सुल्तान अहमद शाहले इस्माइलको पक्षमा ११४ सांसदहरू रहेको बताए । त्यो झिनो बहुमत हो ।
६१ वर्षीय इस्माइललाई शनिवार मलेसियाको नवौं प्रधानमन्त्रीका रूपमा शपथ खुवाइनेछ ।
मलेसियामा राजाको आलंकारिक भूमिका मात्र छ तर संसदमा बहुमत समर्थन रहेको विश्वास गरिएका व्यक्तिलाई उनले प्रधानमन्त्री नियुक्त गर्न सक्छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-