बुलस्थित अमेरिकी दूतावासका कर्मचारीहरूले अफगान नागरिकको पासपोर्ट जलाएको खबर पोलिटिको पत्रिकाले दिएको छ ।
अमेरिकाका लागि भिसाको निवेदन दिन पासपोर्ट बुझाएका अफगानीहरू अब पासपोर्टविहीन बनेका छन् । दूतावासबाट भाग्ने क्रममा कर्मचारीहरूले पासपोर्ट जलाएको बुझिएको छ ।
न्यु जर्सीका डेमोक्रेट सांसद एन्डी किमले पोलिटिकोलाई जलाइएको अफगान पासपोर्टका बारेमा बताएका हुन् । देश छोड्न चाहने अफगानहरूलाई पहिचान गर्न अब गाह्रो पर्ने उनको भनाइ छ ।
‘दूतावास खाली गर्ने समयमा हाम्रो उपस्थितिलाई न्यून गर्न तथा संवेदनशील सामग्रीको संख्या घटाउन गरिने यो सामान्य प्रक्रिया हो । काबुल दूतावासलाई खाली गराउँदा मानक सञ्चालन प्रक्रिया अपनाइएको थियो,’ अमेरिकाको परराष्ट्र मन्त्रालयका एक प्रवक्ताले बताए ।
पासपोर्ट नभएका अफगानीहरूले यात्रा गर्न नपाउने भन्ने किमको दाबीलाई ती प्रवक्ताले खण्डन गरे ।
‘दूतावास खाली गर्ने प्रक्रियाले अफगानिस्तानबाहिर लग्न योग्य व्यक्तिहरूलाई कुनै बन्देज लगाउने छैन,’ ती प्रवक्ताले भने । ‘यात्रुको पहिचानलाई पुष्टि गर्न अमेरिकी सरकारसँग अन्य उपाय पनि छन् । सुरक्षा कारणले गर्दा हामी यसको थप विवरणमा जाने छैनौं ।’
प्रतिक्रिया लेख्नुहोस्:-