सईद सादात अफगानिस्तानको सरकारमा सञ्चारमन्त्री थिए। राम्रो भविष्यको आशामा उनी गत डिसेम्बरमा जर्मनी पुगे। अहिले उनी जर्मनीको पूर्वी शहर लाइपजिगमा ‘डेलिभरी म्यान’को काम गर्छन्।
मन्त्रीको रुपमा सरकारमा रहेर २ वर्षसम्म काम गरिसकेपछि पनि यस्तो काम गर्दा स्वदेशमा केहीले उनको आलोचना गर्ने गरेको उनी बताउँछन्। उनी सन् २०१८ मा मन्त्रीको जिम्मेवारीबाट बाहिरिएका थिए। केहीले आलोचना गरेपनि उनलाई भने कुनै काम ठूलो सानो लाग्दैन।
‘मैले दोषी महसुस गरेको छैन’, सुन्तला रंगको ड्रेसमा आफ्नो साइकल अगाडि उभिएका सादातले भने।
४९ वर्षीय सादात बेलायत र अफगानिस्तान दुवै देशका नागरिक हुन्। राष्ट्रपतिको टिमका केही सदस्यसँगको असहमतिपछि आफू अफगानिस्तान सरकारबाट बाहिरिएको उनी बताउँछन्।
‘म अरु राजनीतिज्ञहरुले पनि यसै गरुन् भन्ने चाहन्छु- लुकेर बस्ने होइन कि जनतामाझ गएर काम गर्ने,’ उनले भने।
अफगानिस्तानमा तालिबानको कब्जापछि निम्तिएको भयावह अवस्थापछि उनको कथाले विशेष महत्व पाएको छ। उनका परिवार र साथीहरु पनि देश छोड्न चाहन्छन्। उद्धार उडानमार्फत देश छोड्न चाहेका हजारौँ नागरिकहरुको भिडमा उनीहरु पनि सामेल हुन चाहन्छन्। देश छोड्न अन्य मार्गको खोजीमा पनि छन् उनीहरु।
अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता लैजाने भएसँगै यो वर्षको सुरुवातदेखि नै जर्मनीमा आप्रवासीको रुपमा आउन चाहने अफगान नागरिकहरुको संख्या ह्वात्तै बढेको थियो। आप्रवासन र शरणार्थीहरुको लागि संघीय कार्यालयको तथ्यांक अनुसार यो संख्या १३० प्रतिशतले बढेको छ।
दोहोरो नागरिकताको अर्थ उनी बेलायतमै बस्न पनि सक्थे, जहाँ उनले आफ्नो जीवनको धेरै समय बिताए। तर, सन् २०२० को अन्त्यमा उनले जर्मनी जाने निर्णय गरे। युरोपियन युनियनबाट बेलायत बाहिरिनु भन्दा अघि नै उनले यो निर्णय लिएका थिए। यो नै जर्मनी जाने उनको लागि अन्तिम अवसर थियो।
उनले जर्मनी छनौट गरे किनभने उनलाई लाग्छ कि यहाँ राम्रो आर्थिक भविष्य छ। र, दूरसञ्चार तथा आइटी क्षेत्रहरुमा आफ्नो अग्रणी भूमिकाको पनि उनले अपेक्षा गरेका छन्।
सञ्चारमन्त्री भइसकेको उनको पृष्ठभूमि भएपनि उनले जर्मनीमा आफ्नो योग्यता र अनुभव अनुसारको जागिर पाएका छैनन्। उनीले आइटी र दूरसञ्चार विषयमा डिग्री गरेका छन्। सोही योग्यताको आधारमा उनले सम्बन्धित क्षेत्रमा जागिर पाउने आशा लिएका छन्। तर, जर्मन भाषाको ज्ञानबिना उनले जागिर पाउने सम्भावना निकै कम छ।
‘भाषा चाहिँ सबैभन्दा महत्वपूर्ण पाटो रह्यो,’ सादातले भने।
‘लाइफेरान्डो’ कम्पनीको लागि खाना डेलिभरी गर्ने ६ घण्टाको साँझको कामअघि उनले भाषा स्कुलमा दिनको चार घण्टा जर्मन भाषा सिक्ने गरेका छन्। सो कम्पनीमा उनले यसै ग्रीष्म ऋतुदेखि काम गर्न थालेका हुन्।
‘शुरुका केही दिन रोमाञ्चक तर कठिन थिए,’ शहरमा बाक्लो सवारी आवागमनका बीच साइकल चलाउन सिक्दाका चुनौतिबारे वर्णन गर्दै उनले भने।
‘जति धेरै बाहिर गयो र मानिसहरुसँग भेटघाट गर्यो, त्यति नै धेरै सिकिन्छ,’ उनले भने।
प्रतिक्रिया लेख्नुहोस्:-