वीरगन्ज : पर्सा जिल्लामा जनता समाजवादी पार्टी (जसपा) का २८ जना जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा ) रोजेका छन्। यस्तै नेकपा एमालेका पनि ५ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्। राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश आएपछि विभाजित भएका एमाले र जसपाका जनप्रतिनिधिले दल रोज्ने समयावधि, मङ्गलबार साँझ ५ बजेसम्मको समय पाएका थिए।
नेकपा एकीकृत समाजवादी र लोसपा बनेपछि दल रोज्न जनप्रतिनिधिलाई निर्वाचन आयोगले भदौ २ गतेदेखि मङ्गलबार भदौ २२ गते साँझ ५ बजेसम्मको समयावधि दिएको थियो। यो अवधिमा पर्सा जिल्लामा जसपाका २८ जना जनप्रतिनिधिले लोसपा र एमालेका ५ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेको जिल्ला निर्वाचन कार्यालय पर्साका सुचना अधिकारी अरुण ठाकुरले जानकारी दिए।
जसपाका २८ जना जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालय पर्सामा आएर लोसपामा सनखात गरेका हुन्। मङ्गलबार अन्तिम दिन कालीकामाई गाँउपालिकाका उपाध्यक्ष राजेशकुमार चौरसिया, जगरनाथपुर गाँउपालिका ६ की वडा सदस्य संगीता देवी र कार्यपालिका सदस्य सरोजकुमारी पाण्डेले जिल्ला निर्वाचन कार्यालय पर्सामा पुगेर लोसपामा सनाखत गरेको ठाकुरले बताए।
यसअघि पकाहामैनपुर गाउँपालिकाकी उपाध्यक्ष कुशमी देवी सहित विभिन्न पालिकाका ५ जना वडा अध्यक्ष र १५ जना वडा सदस्यले लोसपामा सनाखत गरेका थिए। जसपाका २८ जना जनप्रतिनिधिले लोसपामा सनखात गरेको भए पनि तीमध्ये ३ जनाले लोसपामा गरेको सनाखत फिर्ताको माग गर्दै निवेदन दिएको भए पनि यसको निर्णय निर्वाचन आयोगले गर्ने ठाकुरले बताए।
यस्तै एमालेका पनि ५ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेको ठाकुरले जानकारी दिए। ठाकुरका अनुसार एमालेबाट निर्वाचित विभिन्न पालिकाका १ जना वडा अध्यक्ष र ४ जना वडा सदस्य गरी ५ जना जनप्रतिनिधिले मात्रै नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका हुन्। ठाकुरले पर्सामा नयाँ दल रोजेका जनप्रतिनिधिहरुको अन्तिम नामवली भने बुधबार सार्वजनिक गरिने बताए।
प्रतिक्रिया लेख्नुहोस्:-