काठमाडौँ । मन्त्रिपरिषद् विस्तार र एमसीसी पारित गर्नेरनगर्ने बारे साझा धारणा बनाउन सत्तारुढ गठवन्धनको बैठक प्रधानमन्त्री निवास वालुवाटारमा सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र केही दोस्रो वरियताका नेताहरुको सहभागिता रहेको छ । सरकार गठन भएको दुई महिना बित्न लाग्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । राजनीतिक दलसम्बन्धी अध्यादेश निस्क्रिय गराएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने योजनामा सत्ता गठबन्धन रहेको थियो । अध्यादेश संसद्मा पेश भएको छ ।
त्यस्तै, एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्स सहितको टोली नेपाल आएसँगै सत्तारुढ दलमाथि एमसीसीका विषयमा निर्णय गर्न दबाब बढेको छ । सो विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग एमसीसी प्रतिनिधि मण्डलको टोलीसँग भोलि शुक्रवार भेट हुँदै छ । एमसीसीका विषयमा अमेरिकाबाट आएको प्रतिनिधिमण्डलको टोलीले प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीलाई भने बिहीबार नै भेटिसकेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-