काठमाडौँ — कोभिड-१९ को महामारीका कारण अमेरिकामा लाखौं परिवारले आफ्ना बालबालिकालाई लामो समयपछि विद्यालय पठाउने कि नपठाउने भन्ने दोधारमै रहेको बेला १८ वर्षभन्दा कम उमेरका बालबालिकामा कोरोनाको संक्रमण उच्च देखिएको छ । अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सका अनुसार बालबालिकामा संक्रमण हालसम्मकै उच्च तहमा पुगेको हो । अंग्रेजी वर्षको अगस्ट महिनामा मात्रै ३० हजार बालबालिका अस्पताल भर्ना भएको पत्रिकाले जनाएको छ ।
खोप लगाउने दर निकै कम भएको राज्यका साथै देशभर नै बालबालिकाहरुमा संक्रमण निकै बढेको बताइएको छ । सबैभन्दा बढी बालबालिका भने लुजियाना र टेक्सास राज्यमा प्रभावित भएका छन् । बालबालिकामा कोभिड-१९ को गम्भीर जोखिम वयस्कमा भन्दा कम भएपनि बालबालिकाको बढ्दो अस्पताल भर्नाले चिन्ता बढाएको विज्ञहरुले बताएका छन् ।
‘बालबालिकालाई अस्पताल भर्ना नै गर्नुपर्ने अवस्था आउनु भनेको सामान्य विषय होइन । यसले हामीलाई सोच्न बाध्य बनाएको छ । हामीले बालबालिकामा संक्रमण फैलन नदिनका लागि गर्नुपर्ने धेरै उपायहरु छन्,’ कोभिड-१९ का कारण अस्पताल भर्ना हुनेहरुको तथ्यांक विश्लेषक तथा युनिभर्सिटी अफ साउथ फ्लोरिडाकी जनस्वास्थ्यविद् जेसन एल सलेमीले भनिन् ।
जनस्वासथ्यविद् तथा स्वास्थ्य विज्ञले समेत कोभिडका कारण बालबालिका अस्पताल भर्ना हुने दर बढेमा बाल अस्पताल तथा आईसीयू व्यवस्थापनमा चुनौती थपिने चेतावनी दिएका छन् । उनीहरुका अनुसार पहिले नै नर्सहरुको अभाव झेलिरहेका अस्पतालहरुमा यसले थप दबाब बढाउने छ । अमेरिकाका अस्पतालमा औसतमा १२ पिडियाट्रिक आईसीयू बेड मात्रै छन्,’ क्यान्टकी चिल्ड्रेन्स मेडिकल सेन्टरका पिडियाट्रिक इन्टेन्सिभिस्ट डा. क्रिस्टोफर क्यारोलले भने, ‘यस्तो अवस्थामा स्थितिले छिट्टै गम्भीर रुप लिन सक्छ । त्यसमाथि पनि बालबालिकाको उपचारका लागि आवश्यक जनशक्ति पनि कम छ ।’
अस्पतालमा बालबालिका भर्ना हुने दर बढेसँगै अस्पताल व्यवस्थापक एवं चिकित्सकहरुले वयस्कहरुलाई खोप लगाउन ढिला नगर्न, मास्कको प्रयोग गर्न तथा सामाजिक दुरी कायम राख्न आग्रह गर्न थालेका छन् ।












प्रतिक्रिया लेख्नुहोस्:-