काठमाडौं। फेरि जीवित बनाउने उद्देश्यले प्रयोगशालामा फ्रिज गरेर राखिएका धनाढ्यहरुका मृत शरीर र मस्तिस्कहरु चोरी भएका छन् । प्रयोगशालाका मालिककी पूर्व पत्नीले यी फ्रिज गरिएका मानव शरीरहरु चोरी गरेकी हुन् । रुसको मस्कोमा ५९ वर्षकी भलेरिया उदालोभा र उनको कम्पनीका स्टाफहरु मिलेर भलेरियाका पूर्वपतिको प्रयोगशालाबाट मानव शरीरहरु कब्जामा लिएका हुन् ।
यी शव ती मृतकहरुका हुन् जसले आफ्नो मृत्युभन्दा पहिल्यै आफ्नो शरीर फ्रिज गरेर भण्डारण गरी सुरक्षित राख्नको लागि यो प्रयोगशालालाई ठूलो रकम दिएका थिए । उनीहरुले विज्ञानले मरिसकेका मानव शरीरलाई पुनः जीवित बनाउने प्रविधि विकास गरेपछि आफूहरुलाई पुनः जीवित बनाउनको लागि यो रकम दिएका थिए । यी मृतकहरुमध्ये केही बेलायती र अमेरिकीहरु पनि छन् ।
द सनको रिपोर्टअनुसार यी शरीरहरु भलेरियाका पूर्वपति ४१ वर्षका ड्यानिला मेद्भेदेवको मस्कोमा रहेको प्रयोगशालामा राखिएका थिए । रिपोर्टका अनुसार यो प्रयोगशाला रुसको प्रमुख क्र्यो–स्टोरेज स्थल हो । भलेरिया र उनका स्टाफहरुले फ्रोजन शरीरहरु राखिएका विशाल भाँडाहरुबाट तरल नाइट्रोजल पोखेर यिनीहरुलाई कब्जामा लिएका हुन् । केहीले प्रयोगशालामा राखिएका मानव मस्तिस्कहरु पनि कब्जामा लिएका थिए । त्यसपछि उनीहरुले यी सबैलाई ट्रकमा हालेर लिएर गए ।
मेद्भेदेवका अनुसार उनीहरुले यसरी ट्रक लिएर जान थालेपछि पुलिस बोलाइएको थियो तर पुलिसले भलेरियालाई पक्राउ गरेन । खासमा मेद्भेदेवले पहिलेदेखि नै क्रियोरस नामको कृत मानव शरीर फ्रिज गरेर सुरक्षित राख्ने कम्पनी चलाउँदै आएका छन् । अर्कोतर्फ यो कम्पनीकी पूर्व प्रमुख भलेरियाले अहिले ओपन क्रियोनिक्स नामको अर्को यस्तै किसिमको कम्पनी चलाउन थालेकी छिन् । अहिले यी दुवैले यी फ्रिज गरिएका मानव शरीरमाथि आफ्नो हक भएको दावी गरिरहेका छन् ।
यी दुईको सम्बन्धविच्छेदपछि यी फ्रिज गरिएका शवमाथि विवाद सुरु भएको हो । दुवैले यी शरीरमाथि आफ्नो दावी गरेपछि पुलिसले यस विषयमा थप जाँच गरिरहेको छ र दुवैलाई यी शरीरमाथि आफ्नो हक भएको प्रमाणित गर्न भनेको छ । अर्कोतर्फ भलेरियाले यसरी प्रयोगशालाबाट उठाउँदा ती शरीर र अन्य अंगहरु क्षतिग्रस्त भएको हुन सक्ने आशंका गरिएको छ ।
यसरी पूरै शरीर फ्रिज गरेर सुरक्षित राख्नको लागि करिब २६ हजार पाउण्ड (४२ लाख रुपैयाँ) र मस्तिस्क फ्रिज गरेर सुरक्षित राख्न ११ हजार पाउण्ड (१८ लाख रुपैयाँ) शुल्क तिर्नुपर्छ । मेदभेदेवको चोरी भएको प्रयोगशालामा करिब ८२ जनाको शरीर राखिएको थियो जसमध्ये २५ जना विदेशी थिए । यसरी सुरक्षित राखिएका मस्तिस्कलाई दशकौं वा शताब्दीपछि जीवित भएपछि अर्को शरीरमा राख्न सकिने दावी गरिन्छ ।
प्रतिक्रिया लेख्नुहोस्:-