नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य हरिभक्त कँडेल ‘प्रतिक’ले मुलुकलाई विदेशीहरुको द्वन्द्वको भुमरीमा फसाउने गरी कुनै पनि हालतमा एमसीसी लागु गर्न नहुने बताएका छन् । मंगलबार जनकपुरधाममा मधेसी राष्ट्रिय मुक्ति मोर्चा (क्रान्तिकारी)ले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश नम्बर २ का इन्चार्ज समेत रहेका प्रतीकले बहुमतको कम्युनिष्ट सरकार वा गठबन्धनको सरकारले जनतालाई बेवास्ता गर्दै देश र जनता विरोधी कार्य गर्ने दुस्साहस गरिरहेको बताए ।
सो पार्टीका स्थायी समिति सदस्य हरिभक्त कँडेलले देशभक्तहरूले मुलुकको रक्षाका निमित्त एक कदम अगाडि बढेर खबरदारी गर्नुपर्ने बेला आएकोमा जोड दिए । उनले देशमा अहिले संसदवादी कम्यूनिष्ट, संसदीय व्यवस्थामा रमाउने काँग्रेस र राष्ट्रियता तथा देशभक्तको नाममा देश बेच्ने दलालहरु नै अग्रस्थानमा भएको भन्दै देशलाई जोगाउन अभियान नै सञ्चालन गर्नु परेको बताए ।
त्यस्तै मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल क्रान्तिकारीका अध्यक्ष वीरेन्द्र यादवले मोर्चाको बैठकको निर्णय सार्वजनिक गर्दै एमसीसी विरुद्ध आन्दोलन गर्ने बताए । उनले मोर्चाको संगठन विस्तारसँगै वडा, पालिका, जिल्ला र प्रदेशस्तरमै आन्दोलनको माध्यमले एमसीसी खारेजी गर्न सरकारलाई दबाब दिने बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-