भन्छन् नि, ‘संसारलाई बुझ्न सजिलो, नेपालको अदालतलाई बुझ्न गाह्रो !’ संवैधानिक इजलाशमा प्रधानन्यायाधीशले अध्यक्षता गर्ने कि नगर्ने भनेर रिट दायर हुँदा प्रधानन्यायाधीश मुद्दालाई असर पर्न नदिन बिदा बस्न तयार हुने तर जुनियर न्यायाधीश एक्लै भने पाँच जना न्यायाधीशमाथि अंकुश लगाउन जम्जमाउने ।
जसको हातमा मुद्दा प¥यो, उसले सकेको गर्ने चलन विकास हुँदा प्रधानमन्त्रीका रुपमा केपीको पहिलो कार्यकालका दोस्रो महान्यायाधिवक्ता हरि फुयाँलले यसचोटि मज्जैसँग ‘ऋण’ तिरेको चर्चा छ । नत्र, ओलीसँग गाँसिएको मुद्दा उनको महान्यायाधिवक्ताका रुपमा काम गरिसकेका, अर्थात् ‘सरोकारवाला’ न्यायाधीशले हेर्नु नपर्ने थियो । यो नैतिकताको शिक्षा इतिहास वा अरुबाट हैन, भर्खरै सर्वोच्चभित्रैको एउटा घटनाबाट लिन सकिन्थ्यो ।
लोकसेवा आयोगविरुद्ध दायर एउटा रिट न्यायाधीश कुमार रेग्मीको बेञ्चमा पर्दा आफ्ना दाजु माधव उक्त आयोगको अध्यक्ष भएका कारण उनले त्यो मुद्दा हेरेनन् । पुस ५ को प्रतिनिधिसभा विघटनपछि सर्वोच्चमा दायर मुद्दाको सुनुवाई संवैधानिक इजलाशमा हुँदा त्यहाँबाट बाहिरिएका हरिकृष्ण कार्कीलाई ओलीहरुले ‘गद्दार’ करार गरिदिए । त्यसपछि हरिकृष्णलाई प्रधानन्यायाधीश हुने लाइनबाट फाल्ने घोषणा सम्झिँदै फुयाँलले त्यस्तो आदेश दिएको भन्छन्, केही न्यायाधीश ।
उनले आफूभन्दा सिनियर न्यायाधीशहरु रहेको संवैधानिक इजलाशको सुनुवाई रोक्नमात्र आदेश दिएनन्, ओलीलाई रिस उठेका विषयहरुलाई पनि त्यही आदेशभित्र हालेर ‘अचम्मै’ गरिदिए भनिन्छ । उनले त्यही रिटको बहानामा नेपाल बारले पटक–पटक निकाल्ने विज्ञप्ति, सञ्चारमाध्यममा आउने गरेका समाचारदेखि पूर्वप्रधानन्यायाधीशहरुका अभिव्यक्तिमाथि पनि राम्रैसँग अंकुश लगाउन खोजेको पाइयो ।
खासमा अदालतमा हरि फुयाँलको कार्यकाल अकन्टक १५ वर्ष बाँकी छ । त्यसमध्ये उनी अझै दश वर्ष त्यहीँ रहन्छन् र त्यसपछिको झण्डै ५ वर्ष प्रधानन्यायाधीश हुन्छन् । थाहा छैन, ओलीको फेभर ग¥यो भनेर बीचमा कसैले उनीविरुद्ध आक्षेप लगाउँछ कि लगाउँदैन ?
आधिकारिक कुनै पनि निकायले गरेका जुनसुकै निर्णयमाथि प्रश्न उठ्न सक्छ । तर, त्यो प्रश्न सरोकारवालाले मात्रै उठाउन पाउने भन्दै दरपिठ गरिरहने हो भने संवैधानिक नियुक्तिमा कहाँनेर चाहिँ गणेश रेग्मीको हक लाग्ने अनि दिनेश त्रिपाठीको नलाग्ने हुन्छ त !
हरि फुयाँलको इजलाशले दिएको आदेश उल्टाउन (भ्याकेट) मा गए, दिनेश त्रिपाठी । तर, ‘सरोकारवाला हैन’ भनेर निवेदन लिइएन, दरपिठ भयो । अब दिनेश त्रिपाठी दरपिठउपर रिटमा जाने तयारी गर्दैछन् ।
प्रतिक्रिया लेख्नुहोस्:-