रोयटर्स । अस्ट्रेलियाले फ्रान्ससँग पनडुब्बी खरिद गर्ने सम्झौता खारेज गर्ने निर्णयको बचाउ गरेको छ । अस्ट्रेलिया सरकारले महिनौदेखि प्यारिससँग यस विषयमा चासो व्यक्त गरेको बताएको छ । अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले यस निर्णयमा कुनै पश्चताप नगर्ने बताएका छन् । मोरिसनले भनेका छन्, “अस्ट्रेलियाको राष्ट्रिय स्वार्थलाई पहिलो स्थानमा राख्ने निर्णयमा पश्चताप गर्दिँन ।”
प्रधानमन्त्री मोरिसनले २०१६ मा ४० बिलियन डलर र अहिले अझै धेरै पर्न सक्ने खरिद सम्झौता रद्द भएपछिको फ्रान्सको असन्तुष्टि आफूले बुझेको तर अस्ट्रेलियाले सधैँ आफ्नो सर्वोत्तम स्वार्थमा निर्णयहरू लिनुपर्ने दोहोर्याए । यो मुद्दा केही महिनाअघि आफैले उठाएको र रक्षा मन्त्रालय र अन्य निकायामर्फत् आफूहरूले निरन्तर कुरा गरेको उनको भनाई छ ।
अस्ट्रेलियाले फ्रान्ससँग परम्परागत पनडुब्बीहरू खरिद गर्न २०१६ मा गरेको सम्झौता खारेज गरी अमेरिका र ब्रिटेनसँग परमाणु उर्जाबाट चल्ने पनडुब्बी बनाउने सम्झौता गरेको थियो । यस कदमले नाटोको साझेदार राष्ट्र फ्रान्सलाई रुष्ट बनाएको छ । बदलामा फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ । यसले बहुराष्ट्रिय कुटनीतिक संकट निम्त्याएको छ ।
‘ओकस’ भनिने त्रिपक्षीय सम्झौताले वाशिङ्टनलाई फ्रान्ससँग अनपेक्षित कुटनीतिक संकटमा धकेलेको छ । विश्लेषकहरू यसले अमेरिकाको फ्रान्स र यूरोपसँगको साझेदारीलाई लामो समयसम्म बिगार्न सक्ने बताउँछन् । साथै चीनको बढ्दो शक्तिविरुद्ध अमेरिकी राष्ट्रपति जो बाइडनले बनाउन खोजिरहेको एकीकृत मोर्चालाई शंकाको घेराभित्र हुत्याएको छ ।
प्यारिसले पनडुब्बी खरिद सम्झौता खारेजीलाई ‘पछाडिबाट छुरा रोपेको’ भनेको छ । फ्रेन्च विदेशमन्त्री जाँ–यिभ् ल द्रियाँले अमेरिका र अष्ट्रेलियासँगको सम्बन्ध संकटमा रहेको बताएका छन् । अमेरिका, यूके र अष्ट्रेलियाबीच भएको नयाँ सुरक्षा सम्झौताले इन्डो–प्यासेफिक क्षेत्रको प्रमुख उदयीमान शक्ति चीनलाई पनि चिढ्याएको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले आफूले बुधबार बिहान ८ः३० मा नयाँ सम्झौताबारे फ्रान्सलाई जानकारी दिएको बताए । उनी, बाइडन र ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले २१०० जिएमटीमा नयाँ सम्झौता घोषणा गरेका थिए । अष्ट्रेलियाका रक्षामन्त्री पिटर डटोनले फ्रान्ससँग उसको चासोको बारेमा अष्ट्रेलिया “निर्भीक, खुल्ला र इमानदार” रहेको बताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-