अष्ट्रेलियामा बुधबार ६ म्याग्नेच्युडको भूकम्प गएको छ। बुधबार बिहान स्थानीय समयअनुसार ९ बजेर १५ मिनेटमा भिक्टोरिया राज्यको राजधानी मेलबर्ननजिकैको म्यान्सफिल्डलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।
जिओसाइन्स अष्ट्रेलियाका अनुसार यो अष्ट्रेलियाको इतिहासमा रेकर्ड भएको सबैभन्दा ठूलो भूकम्पमध्ये एक हो। अष्ट्रेलियाको यो क्षेत्रमा निकै कम भूकम्प जान्छ। यसअघि सन् १९८९ मा न्युक्यासलमा ५.६ म्याग्नेच्युडको भूकम्प गएको थियो। बुधबारको भूकम्पको धक्का सयौं किलोमिटर टाढाका सिड्नी, एडलेइडलगायत सहरसम्म पनि महशुस गरिएको थियो।
सामाजिक सञ्जालमा केही प्रयोगकर्ताहरूले मेलबर्न सहरका केही भवनमा क्षति भएका तस्बिरहरू पोष्ट गरेका छन्। अहिलेसम्म मानवीय क्षति भएको विवरण आइसकेको छैन। ४ म्याग्नेच्युडको परकम्प पनि आएकाले अग्ला भवनमा रहेका मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। केही ठाउँमा बिजुली अवरूद्ध भएको पनि बताइएको छ।
अमेरिका भ्रमणमा रहेका अष्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले वासिङ्टनमा संवाददाताहरूसँग कुरा गर्दै अहिलेसम्म कोही घाइते नभएको सुखद खबर नआएको र यही सुखद खबर निरन्तर हुनेमा आफू आशावादी रहेको बताएका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-