जापानको शिक्षा मन्त्रालयमातहतको विज्ञहरुको एक समितिले विदेशी पृष्ठभूमिका विद्यार्थी भएका उच्च विद्यालयका विद्यार्थीहरुलाई जापानी भाषा प्रशिक्षणमा सुधार गर्ने प्रस्तावहरुको सूचि तयार पारेको छ । जापानमा त्यस्ता विद्यार्थीहरुको संख्या बढिरहेको समयमा यस्तो कदम चाल्न लागिएको हो ।
शिक्षा मन्त्रालयले सन् २०१८ मा गरेको एक सर्वेक्षणमा ५ हजार १७२ सरकारी उच्च विद्यालयका विद्यार्थीहरुलाई जापानी भाषासम्बन्धी प्रशिक्षण आवश्यक रहेको देखिएको थियो । १० वर्षमा यो दर २ दशमलव ७ प्रतिशतले बढेको छ ।
भाषागत अवरोध जस्ता समस्याका कारण करीब १० प्रतिशत विद्यार्थीहरुले विद्यालय छाडेका थिए । यो जापानमा सरकारी उच्च विद्यालयमा पढाई बिचमै छोड्ने विद्यार्थीको अनुपातमा निकै धेरै हो । जापानमा यस्ता विद्यार्थीको संख्या १ प्रतिशत मात्रै रहेको छ ।
बुधबार भएको एक बैठकमा समितिले उच्च विद्यालयहरुलाई प्राथमिक र कनिष्ठ उच्च विद्यालयमा भएको जस्तै विशेष खालको पाठ्यक्रम बनाउन अनुरोध गरेको छ । विद्यार्थीको भाषागत निपुणताका आधारमा व्यक्ति विशेष निर्देशन आवश्यक रहेकोमा पनि समितिले जोड दिएको छ ।
समितिले यस्ता कक्षाहरुलाई क्रेडिटको रुपमा गणना गर्न पनि भनेको छ । अन्य प्रस्तावहरुमा विशेष ज्ञान भएको गैर नाफा मुलक संस्था र सम्बन्धित अन्य संगठनहरुसँग जापानी भाषा प्रशिक्षकहरुले मिलेर काम गर्ने रहेको छ ।
जापानी भाषा प्रशिक्षणका लागि कार्यढाँचा र नियम बनाउन समितिले सरकारलाई अनुरोध गरेको थियो ।समितिको प्रस्तावमा आधारित भएर आर्थिक वर्ष २०२३ मा जापानी भाषा प्रशिक्षणलाई संस्थागत गर्ने लक्ष्य शिक्षा मन्त्रालयले लिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-