जापानका प्रमुख विश्वविद्यालयहरुले नागरिक–सैनिक प्रविधिको अध्ययन गर्न चाहने विदेशी विद्यार्थीहरुको पृष्ठभूमि चेकजाँच कसिलो बनाउने भएका छन् । क्योदो न्यूजले बिहिबार गरेको एक सर्वेक्षणले यस्तो देखाएको हो ।जापानी प्रधानमन्त्री योशिहिदे सुगाले जुनमा सैनिक प्रयोजनमा प्रयोग हुन सक्ने प्रविविधहरुको निर्यातमा कठोर नियन्त्रण गर्न योजना घोषणा गरेपछि संवेदनशील जानकारीहरु जापानबाट बाहिरिन नदिन यस्तो प्रयास गर्न लागिएको हो । विदेशी सरकारको उच्च प्रभावमा रहेका विद्यार्थीहरुले यस्ता खालका अनुसन्धानमा काम गर्न उद्योग मन्त्रालयको अुनमति लिनु पर्नेछ ।
सर्वेक्षणमा ५६ ओटा विश्वविद्यालयबाट उत्तर संकलन गरिएको थियो । यिनीहरुमा चिनियाँ विश्वविद्यालयसँग विद्यार्थी आदानप्रदान सम्झौता गरेका विश्वविद्यालयहरु समेत थिए । सर्वेक्षणमा सहभागी भएका विद्यालयमध्ये ३१ ओटाले आफूले विद्यार्थीको पृष्ठभूमि चेकजाँच गरिरहेको वा गर्ने योजना बनाएको बताएका थिए ।
उनीहरुले विदेशी विद्यार्थीहरुले पढेका विद्यालय र काम गरेका कम्पनीहरुबारे चेक गर्न थालेका छन् । केही विश्वविद्यालयहरुले विद्यार्थीहरुलाई सेनासँग सम्बन्धित काम गर्ने इच्छा छ कि छैन भनेर समेत सोधेका थिए । केहीले भने विद्यार्थीले अनुसन्धानका लागि कहाँबाट पैसा प्राप्त गरे भन्नेबारे विवरण खुलाउन भनेका थिए ।
यस अघि कयौं विद्यालयहरुले अन्तिम पटक विद्यार्थीहरुले पढेको विद्यालयबारे मात्रै सोध्थे । गत वर्षको मेसम्ममा जापानमा करीब २ लाख ८० हजार विदेशी विद्यार्थी थिए । यीमध्ये चिनियाँ विद्यार्थीको अनुपात ४० प्रतिशत थियो । जापानले अहिले कृत्रिम बौद्धिकता जस्ता सेनासँग सम्बन्धित एपमा दोहोरो प्रयोग हुने प्रविधिमा विदेशी विद्यार्थीले गर्ने अनुसन्धान र अनुसन्धाताबारे कठोर नियम बनाएको छैन ।
प्रतिक्रिया लेख्नुहोस्:-