काठमाडौं। अमेरिकाले एयर ब्रिथिङ आइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको छ । यो हतियार आवाजभन्दा पाँच गुण तीब्र गतिमा उड्न सक्छ । अमेरिकी रक्षा विभाग पेन्टागनका अनुसार २०१३ देखि नै यस्तो परीक्षण गर्ने प्रयास भइरहेको थियो जो अहिले सफल भएको हो ।
यही वर्ष जुलाइ महिनामा रुसले पनि जिरकोन हाइपरसोनिक मिसाइलको परीक्षण गरेको थियो जसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको परियोजना भनिएको थियो । अमेरिकाले गरेको मिसाइलको परीक्षण गत हप्ता भएको पेन्टागनले बताएको छ । पपेन्टागनले भनेको छ ‘यो परीक्षणको साथमा हामी नयाँ पिँढीतर्फ बढिरहेका छौं र अमेरिकी सेनाको शक्तिलाई बलियो बनाइरहेका छौं ।’ अमेरिकाले यो वर्षको अन्त्यसम्म यस्तै अरु परीक्षण गर्ने तयारी गरेको छ ।
हाइपरसोनिक हतियार ६ हजार २ सय किलोमिटर प्रतिघण्टाको गतिमा उड्छन् । यी हतियारको गति आवाजको भन्दा ५ गुणा बढी हुन्छ । अमेरिकाको रक्षा विभाग पछिल्लो समय हाइपरसोनिक मिसाइल र हतियारतर्फ केन्द्रित भएको छ । यो मिसाइलले अक्सिजन भएका क्षेत्रमा तीब्र रुपमा काम गर्ने बताइएको छ ।
पछिल्ला केही वर्षमा हाइपरसोनिक हतियारको क्षेत्रमा रुस र चीन धेरै अगाडि बढिसकेकोले हर हालमा अमेरिका पनि यो क्षेत्रमा काम गर्नैपर्ने अवस्थामा थियो । अमेरिकाले हालै अफगानिस्तानबाट आफ्नो सेना हटाएको छ तर आतंकवादी आक्रमणको खतरा भने लगातार बढिरहेको छ । साथमा तालिबानको रुस र चीनसँग निकटता अमेरिकाको लागि चिन्ताको विषय बनेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-