काठमाडौं। अफगानिस्तानमा तालिबानको शासन स्थापना भएसँगै विश्वभर त्यहाँका महिलाको विषयलाई लिएर चिन्ता व्यक्त गरिँदैछ । किनकि ५० वर्ष पहिल्यै स्कर्ट लगाएर स्वतन्त्र रुपमा बाहिर काम गर्न जाने अफगानी महिलाहरु आज घरबाहिर निस्किन समेत नपाउने भएका छन् । आखिर अफगानी महिलाको जीवनमा के कस्ता उतारचढाव आए जसले आज उनीहरुलाई पर्दापछाडि लुकेर बस्न बाध्य पारेको छ ?
अफगानिस्तान आजभन्दा ठिक १०२ वर्ष अगाडि १९ अगष्ट १९१९ मा ब्रिटिश इण्डियासँग रावलपिण्डी सन्धि गरेपछि पूर्ण रुपमा स्वतन्त्र भएको थियो र त्यसपछि आधुनिक अफगानिस्तानको इतिहास सुरु भयो । अफगानिस्तान स्वतन्त्र भएको हिजो बिहीबार १९ अगष्टका दिन ठिक १०२ वर्ष पूरा भयो । यो एक शताब्दी लामो यात्रामा अफगानी महिलाका जीवनमा धेरै उतारचढाव आए । यसलाई ६ कालखण्डमा विभाजन गर्न सकिन्छ ।
पहिलो, १९१९ देखि १९७८ सम्म जतिबेला अफगानीहरुले आफैं आफ्नो देशमा शासन गरे । दोस्रो, १९७८ देखि १९८९ सम्म सोभियत युनियनको सेनाको शासनकाल । तेस्रो, १९८९ देखि १९९६ सम्म अफगान सरकार र तालिबानबीच युद्ध भइरहेको समय । चौथो, १९९६ देखि २००१ सम्म तालिबानी शासनकाल । पाँचौं, २००१ देखि २०२१ सम्म अमेरिकी सेनाको शासनकाल । र, छैटौं भर्खरै सुरु भएको तालिबानी शासनकाल ।
पहिलो खण्ड १९१९ देखि १९७८ सम्म अफगानिस्तानका आफ्ना शासक थिए र त्यतिबेला महिलाहरु स्वतन्त्र थिए । अमिर अमानुल्लाह खानको शासनकालमा १९२६ मा अफगानिस्तानमा नयाँ ड्रेस कोड लागू गरिएको थियो । यसका महिलाहरुले पर्दा अर्थात बुर्का लगाउने वा नलगाउने त्यो महिलाहरुको इच्छामा निर्भर गर्ने भनिएको थियो । अमानुल्लाह खानको एक भनाइ अझै चर्चित छ ‘धर्ममा यो जरुरी छैन कि महिला आफ्नो हात, खुट्टा र अनुहार ढाकुन् ।’
अमानुल्लाह खानकी पत्नी महारानी सोरायाको एक बयान ‘क्यानेडियन वुमन फर वुमन इन अफगानिस्तान’ नामको रिपोर्टमा उल्लेख छ । उनले भनेकी थिइन् ‘यो नसोच्नुस् कि केवल पुरुषले देशको सेवा गर्छन् । इस्लामका सुरुवाती दिनमा महिलाहरुले अगाढि बढेर समाजको सेवा गरेका छन् । हामीले पनि आफ्नो देशको विकासमा भाग लिनुपर्छ तर यो पढाइ लेखाइ बिना हुने छैन । त्यसैले घरबाट निस्किनुस्, ज्ञान हासिल गर्नुस् ।’
एम्नेस्टी इन्टरनेशनलका अनुसार १९१९ मा अफगानी महिलाहरुलाई मतदानको अधिकार थियो । १३२३ मा अफगानी महिलाले आफ्नो इच्छाले बिहे गर्ने अधिकार पाएका थिए । १९२८ मा अफगानी महिलाको एक समूह टर्कीमा स्कुल पढ्न गएका थिए । १९४० देखि १९५० को बीचमा अफगानी महिलाहरु नर्स, डाक्टर र शिक्षिका बन्न थालेका थिए । १९५९ देखि १९६५ सम्म अफगानी महिलाहरु सरकारी सेवामा र खेलकुदमा खुलेर भाग लिन थालिसकेका थिए ।
१९६५ मा २ जना अफगानी महिला देशका सिनेटर अर्थात सांसद निर्वाचित भएका थिए । १९६६ देखि १९७१ को बीचमा १४ जना अफगानी महिला न्यायाधीश भइसकेका थिए । एक रिपोर्टका अनुसार ६० को दशकमा ८ प्रतिशत अफगानी महिलाहरु घरबाहिर गएर जागिर गर्न थालेका थिए । उनीहरु आफैं पैसा कमाउँथे र उनीहरुको स्टाइन र फेशनको चर्चा टाढासम्म हुने गरेको थियो ।
१९७८ को समयमा विश्वमा अमेरिका र सोभियत संघ गरी २ महाशक्ति थिए । सोभियत युनियन अहिलेसम्म विभाजित भइसकेको छ र थुप्रै देश बनेका छन् । त्यसको ठूलो भाग अहिले रुसको रुपमा छ । त्यतिबेला अफगानी जनता राजतन्त्रबाट मुक्ति चाहन्थे र उनीहरुलाई सोभियत संघले सहयोग गरिरहेको थियो । यो कुरा अमेरिकालाई पटक्कै चित्त बुझेको थिएन ।
एकातिर अफगानिस्तानमा सोभियत युनियनको सहयोगमा क्रान्ति भयो, अर्कोतिर अमेरिकाले अफगानिस्तानमा गुप्त अपरेशन सुरु गर्यो । अमेरिकाकै सहयोगमा अफगानिस्तानमा कट्टर विचारधारासहितका मुजाहिदीन समूह संगठित भए । अमेरिकाको पैसाबाट पालिएका यी कट्टरपन्थी संगठनले अफगानी महिलाको स्वतन्त्रता खोस्न थाले । उनीहरुले जबरजस्ती इस्लामिक शरिया कानुन लागू गराउने र महिलाको स्वतन्त्रता खोस्ने काम गरे ।
अफगानिस्तानको स्थिति बिग्रिएपछि सोभियत संघले १९८० मा आफ्नो सेना अफगानिस्तान पठायो । मुजाहिदीन समूह र सोभियत सेनाबीच ९ वर्षसम्म युद्ध भयो । जहाँ सोभियत युनियनको सेना बलियो हुन्थ्यो त्यहाँका महिला स्वतन्त्र थिए तर जहाँ मुजाहिदीनको प्रभाव बढ्थ्यो त्यहाँका महिला घरबाहिर निस्किन पाउँदैनथे ।
१९८९ मा सोभियत संघले आफ्नो सेना फिर्ता बोलायो र अफगानीलाई आफ्नो भाग्यको भरोसामा छोडिदियो । सोभियत युनियन फिर्ता गएपछि अमेरिकाको उद्देश्य पनि पूरा भयो । त्यसपछि अमेरिकाले पनि आफ्नो हात झिक्यो । उसले पनि अफगानिस्तानमा आफूले धार्मिक कट्टरता जन्माएको थिएँ भन्ने बिर्सियो । त्यसपछि यहाँ महिलाहरुको हालत झनै खराब हुन थाल्यो । गृहयुद्धको क्रममा महिलाको आवाज बाहिर आउन पाइरहेको थिएन । अफगानी महिला मुजाहिदीन र सरकार दुवैसँग आक्रोशित थिए ।
यही समय धार्मिक पढाइ गर्ने विद्यार्थीहरुको एक समूह निकै द्रुत रुपमा लोकप्रिय भइरहेको थियो । यसको नाम तालिब थियो । १९९० मा यो समूहले आफ्नो नेताको रुपमा मुल्ला मुहम्मद उमरलाई पायो र त्यसपछि यो संगठनको नाम तालिबान भयो । देशमा गृहयुद्ध चलिरहेको थियो । जागिर गुमाइसकेका महिला डरले घरमै बसिरहेका थिए । तर, तालिबानले महिलाहरुको लागि अरु नै केही सोचिरहेको थियो ।
१९९६ मा तालिबानले अफगान सरकारलाई हराएर सत्ता कब्जा गर्यो । सत्ता कब्जा गर्नासाथ तालिबानले भन्यो – शरीया कानुन लागू भइसकेको छ । कानुन लामो छ तर यसमा महिलाहरुको लागि बनाइएका प्रमुख नियम यस्ता छन् । पुरुष आफन्त साथमा नलिइ महिला घरबाहिर निस्किन पाउँदैनन् । घरबाहिर निस्किँदा पर्दा अर्थात बुर्का नलगाउनु अपराध हो । घरबाहिर रहँदा शरीरको कुनै पनि अंग देखिने कपडा लगाउन पाइँदैन । पुरुष डाक्टरसँग जाँच गराउन पाइँदैन । पतिको सेवा र घरभित्रको कामबाहेक बाहिर काम गर्न पाइँदैन ।
महिलाहरुलाई पढ्न समेत प्रतिबन्ध लगाइएको परिणाम यस्तो भयो कि कुनै महिला डाक्टर बनेनन् । कानुनअनुसार पुरुष डाक्टरसँग जाँच गराउन नपाइने भएपछि महिलाले स्वास्थ्य सेवा पाएनन् । महिलाहरु कुनै खेलमा भाग लिनु त परको कुरा स्टेडियम गएर खेल हेर्न पनि प्रतिबन्ध लगाइयो । कुनै महिला पुरुष आफन्तबिना घरबाहिर निस्केको पाइएमा तालिबानीहरु उनीहरुलाई बीच बजारमा कुट्थे । महिलाले संगीत सुन्न, फिल्म हेर्न पाउँदैनथे । सबै सिनेमाहलहरु भत्काइएका थिए । बाहिरबाट कसैले देख्छ भनेर घरका झ्यालढोका बन्द राख्नुपर्थ्यो ।
२००१ मा अमेरिकी सेनाले नियन्त्रण लिएपछि महिलाहरुले केही स्वतन्त्रता पाए तर त्यो पनि अमेरिकी सेनाको प्रभाव भएका ठाउँमा मात्र सीमित रह्यो । अहिलेसम्म पनि अफगानिस्तानका केवल ३७ प्रतिशत किशोरीहरु मात्र लेखपढ गर्न सक्छन् । युनिसेफका अनुसार अहिले पनि ३७ लाख अफगानी बालबालिकालाई स्कुल पठाइँदैन । यीमध्ये ६० प्रतिशत छोरीहरु छन् ।
२०१७ देखि २०१९ को बीचमा मात्र अफगानिस्तानका स्कुलमा ३ सयभन्दा धेरै पटक आक्रमण भएका छन् । अफगानिस्तानमा अहिले १० हजार जनाको लागि ४.६ जना डाक्टर, नर्स वा कुनै किसिमका मेडिकल प्रोफेसनल पर्छन् । यसमा पनि ९० प्रतिशत पहुँच पुरुषको मात्र छ । ग्लोबल राइट्सको रिपोर्टअनुसार यहाँका ८७ प्रतिशत महिला कुनै न कुनै रुपमा पुरुषको शोषणको शिकार छन् ।
१५ अगष्ट २०२१ मा काबुलमा तालिबानले कब्जा गरेको छ । यससँगै यहाँका महिलाको अवस्थाबारे चिन्ता व्यक्त गर्न थालिएको छ । अफगानी निर्वाचन आयोगकी पूर्व सदस्य जारमीना काकरले बीबीसीसँग भनिन् ‘अहिले मलाई कसैले कस्ती छु भनेर सोध्यो भने ठिक छु भन्छु तर यो प्रश्नले मेरो आँखामा आँसु ल्याइदिन्छ । खासमा हामी ठिक छैनौं । हामी केही गर्न सक्दैनौं केवल देख्न सक्छौं र रुन सक्छौं ।’
अफगानिस्तानकी फेशन फोटोग्राफर फातिमाका अनुसार अफगानी महिलालाई विश्वका सबैभन्दा स्टाइलिश महिला मानिन्थ्यो तर तालिबान फर्केपछि उनीहरु फेरि बुर्कामा फर्किनुपर्नेछ । विश्वविद्यालयमा पढ्ने २५ वर्षकी हबीबा भन्छिन् ‘तालिबानले स्कुल कलेज बन्द गराएका छन् र बुर्काका पसल खोलेका छन् । यी पसलमा बाक्लो कपडाका बुर्काको माग सबैभन्दा बढी छ ।’ काबुल युनिभर्सिटीमा अन्तर्राष्ट्रिय सम्बन्ध पढिरहेकी आयशा भन्छिन् ‘मेरो फाइनल सेमेस्टर पूरा हुन २ महिना मात्र बाँकी छ तर अब म शायद ग्रयाजुएट हुन पाउँदिन । मानिसहरु त्रासमा छन् । हामीले कस्तो महसुस गरौं भन्ने पनि बुझ्न सकिरहेका छैनौं ।’
प्रतिक्रिया लेख्नुहोस्:-