काठमाडौं:= बलिउड चलचित्र ‘उचाइ’ यतिबेला नेपालमा छायांकन भइरहेको छ । नेपालको हिमाली भेगमा छायांकन भइरहेको यो चलचित्रका लागी सुपरस्टार कलाकारहरुको पनि उपस्थिति छ । यसैबीच छायांकनका लागि नेपाल आउनुभएका कलाकारहरुले सामाजिक सञ्जालमा नेपालमा घुमिरहेको तस्वीर पोष्ट गरिरहनुभएको छ ।
चलचित्रकी अभिनेत्री परिणिती चोपडा पनि यतिबेला छायांकनमै हुनुहुन्छ । उहाँको सामाजिक सञ्जालमा पछिल्लो समय नेपालको सुन्दर हिमाली भेगका तस्वीरहरू देख्न सकिन्छ । कहिले सगरमाथालाई नियाल्दै गरेको फोटो त कहिले समुद्री सतहभन्दा ११ हजार फिटमाथि नाम्चे बजारमा फुटबल खेल्दै गरेको फोटो उहाँले पोष्ट गरिरहनुभएको छ ।
यस्तै, उहाले मंगलबारमात्रै अर्को फोटो पोष्ट गर्नुभएको छ । जसमा उहाँ उचाइमा बसेर ध्यान मग्न देखिनुहुन्छ । फोटो अपलोड गरेर क्याप्सनमा लेख्नुभएको छ, ‘दैनिक ध्यान मेरो सिकरेट हो ।’ सुरज बडजात्याको चलचित्र ‘उचाइ’को छायांकनका लागि परिणितीसँगै अन्य बलिउड कलाकार अनुपम खेर, बोमन इरानीलगायत टिम नेपालमा छ ।
अहिले बलिउड टिमसँगै छायांकनमा रहेका एक व्यक्तिका अनुसार परिणितीको यो फोटो नाम्चे बजारको हो । अहिले ‘उचाइ’ टिम नाम्चेको छायांकन सकेर लुक्लामा छ । पछिल्लो केही दिनदेखिको लगातारको वर्षाले छायांकन प्रभावित बनेको छ । स्रोतका अनुसार सोमबारदेखि नै छायांकन रोकिएको छ ।
नाम्चेको छायांकन सकेर मंगलबार काठमाडौं आउन लुक्लाको एयरपोर्ट पुगेको टिम काठमाडौं आउन पाएन । मंगलबार काठमाडौं आएर यहाँ एक दिन बसेर मनाङ जाने तयारी टिमको थियो । छायांकन टिममा नेपाली कलाकारको टिम छ । मौसम खराबीका कारण सोमबार नाम्चेबाट टिम लुक्लामै आकस्मिक अवतरण गर्नुपरेको थियो । मंगलबार पनि तेन्जिङ हिलारी एयरपोर्टबाट फेरि होटल नै फर्किनु परेको बताइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-