काठमाडौं। अमेरिकाको एक परमाणु पनडुब्बी चीननजिकै दक्षिण चीन सागरमा पानीमुनि रहेको एक समुद्री पहाडमा ठोक्किएको छ । अमेरिकी नौसेनाको दावी अनुसार यो पहाड कुनै पनि नक्सामा देखाइएको थिएन । यसको बारेमा कसैलाई थाहा पनि थिएन । यो ठक्करका कारण पनडुब्बीमा रहेका ११ नौसैनिक घाइते भएका छन् । यो घटना गत महिना भएको भए पनि अमेरिकी नेवीले यसको रिपोर्ट अहिले सार्वजनिक गरेको हो ।
अमेरिकाको घातक परमाणु पनडुब्बी युएस कनेक्टिकट २ अक्टोबरमा साउथ चाइना सीमा निगरानीको लागि घुमिरहेको थियो । यही क्रममा पनडुब्बी यस्तो समुद्री पहाडसँग ठोक्कियो जसबारे कुनै पनि समुद्री नक्सामा उल्लेख छैन । दुर्घटनामा ११ जना घाइते भएका छन् । क्षतिग्रस्त भएको पनडुब्बी गुआम बन्दरगाहसम्म पुगेको छ ।
अमेरिकी नौसेनाले पनडुब्बमिा भएको क्षतिको पूरा जानकारी दिएको छैन । अमेरिकाका सातौं फ्लीटले १ नोभेम्बरमा एक बयान जारी गर्दै सी वुल्फ क्लास फास्ट अट्याक पनडुब्बी युएस कनेक्टिकट एउटा लुकेको समुद्री पहाडमा ठोक्किएको बताएको छ । नेशनल ओशिएनिक एण्ड एटमोस्फियरिक एडमिनिस्ट्रेसन (एनओएए)का अनुसार सीमाउन्ट अर्थात समुद्री पहाड कुनै अन्त्य भएको ज्वालामुखीका चुच्चो भाग हुन्छन् ।
धेरैजसो समुद्री पहाड अर्थात सीमाउन्ट चुच्चो हुन्छन् तर केही गोला वा केही चौडा पनि हुन सक्छन् । केहीको माथिल्लो भाग मैदानजस्तै समतल पनि हुन सक्छन् । समुद्री पहाड समुद्री जीवहरु विकसित हुन, बस्न र प्रजननको लागि उपयुक्त हुन्छन् । समुद्री पहाडबाट भरपुर पोषक तत्व समुद्री पानीमा मिल्छ । एनओएएका अनुसार विश्वभरको समुद्रमा करिब १ लाख समुद्री पहाड छन् । यीमध्ये धेरैजसो १ किलोमिटर अग्ला छन् । तर, अहिलेसम्म वैज्ञानिकले केवल ०.१ प्रतिशत समुद्री पहाड मात्र खोज्न सकेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-