काठमाडौं। आफ्नो किताब ‘लाल सलाम’को प्रमोसनको लागि कमेडियन कपिल शर्माको शोमा पुगेकी भारतकी केन्द्रीय मन्त्री स्मृति इरानीलाई सेटका सुरक्षा गार्डले चिनेनन् । गार्डले स्कृतिलाई भित्र जानबाट रोके । तर, त्यही बेला आएका जोम्याटोका खाना डेलिभरी गर्ने व्यक्तिलाई गार्डले सोधपुछ नै नगरी भित्र जान दिए । यही कुराले रिसाएकी स्मृति इरानी सुटिङ नै नगरी फर्किइन् । स्मृति भारतकी केन्द्रीय महिला तथा बालबालिका मन्त्री हुन् ।
प्रमुख अतिथिको रुपमा सुटिङका लागि आएकी मन्त्री इरानी रिसाएर फर्किएको कुरा कपिल र उनको प्रोडक्सन टिमले थाहा पाएपछि सेटमा खैलाबैला मच्चियो । त्यसपछि प्रोडक्सन टिमले स्कृति इरानीसँग कुरा गर्ने कोसिस गरे तर अन्ततः सुटिङ रद्द गर्नुपर्यो । त्यसपछि त्यहाँ ठूलो संख्यामा पुलिस फोर्स पुग्यो र कपिलको टिमले धेरै बेरसम्म उनीहरुसँग कुरा गरे । जब लामो कुरा गर्दा पनि कुरा मिलेन त्यसपछि कपिलको टिमले सेटको टिमका सबै सदस्यलाई घर पठाइदिए ।
सूत्रका अनुसार केन्द्रीय मन्त्री आफ्ना ड्राइभर र अन्य २ जना सहयोगीको साथमा सुटिङका लागि कपिल शर्माको सेटमा पुगेकी थियन् । बाहिरी गेटमा त्यहाँका सुरक्षा गार्ड अन्नाले उनलाई चिन्न सकेनन् र उनले मन्त्री इरानीलाई भित्र जान दिएनन् । स्मृतिले उनलाई आफूलाई सेटमा सुटिङको लागि बोलाइएको बताइन् र आफू शोको विशेष अतिथि भएको पनि बताइन् । यसको जवाफमा गार्डले भने ‘मलाई कुनै आदेश आएको छैन, सरी म्याडम तपाइँ भित्र जान सक्नुहुन्न ।’
स्मृतिले धेरै बेरसम्म गार्डलाई सम्झाउने कोसिस गरिरहिन् तर गार्डले मानेनन् । त्यही बेला जोम्याटोका डेलिभरी ब्वाय आए । उनी भित्र कलाकारको लागि खानाको प्याकेट दिन आएका थिए । गार्डले उनलाई केही नसोधी जान दिए । यो देखेर मन्त्री इरानी निकै रिसाइन् । जानकारीका अनुसार उनले प्रोडक्सन टिम र कपिल शर्मालाई फोन पनि गरिन् तर कुरा हुन सकेन । अन्ततः रिसाएर उनी सुटिङ नगरी फर्किएर गइन् ।
जब सुरक्षा गार्डलाई आफूले रोकेको व्यक्ति केन्द्रीय मन्त्री स्मृति इरानी भएको थाहा भएपछि उनी सेटबाट भागे । उनले आफ्नो फोन पनि अफ गरे । उता प्रोडक्सन टिमले निकै कोसिस गर्दा पनि स्मृति इरानीलाई सुटिङका लागि मनाउन सकेन । स्मृतिको एपिसोड सुटिङ हुन नसके पनि मंगलबार सनी देओल कपिलको शोमा आफ्ना छोरा करनको फिल्मको प्रमोसन सुटिङका लागि पुगेका थिए । उनको एपिसोड सुटिङ गरियो ।
प्रतिक्रिया लेख्नुहोस्:-